सुनाखरी न्युज
२०७५ फाल्गुन ५ , आइतवार

नेपाल टेलिकमको २६ प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने तयारी

शेयर

Ntc Head office

नेपाल टेलिकमको २६ प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने तयारी

सुनाखरी न्युज/ काठमाडौ – सरकारले नेपाल टेलिकममा रहेको आफ्नो २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा ९२ प्रतिशत सेयर सरकारको स्वामित्वमा रहेकोमा २६ प्रतिशत सर्वसाधारणका लागि जारी गर्ने तयारी गरिएको जानकारी दिएका हुन् । नेपाल टेलिकमलाई जनताको कम्पनीको रुपमा विकास गर्न पनि सरकारले आफ्नो स्वामित्वमा रहेको ९२ प्रतिशत सेयर मध्येबाट २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने योजना अघि सारेको हो । मन्त्री बास्कोटाले सेयर बाँडफाँडको विधिका विषयमा पनि छलफल भइरहेको बताए । सबै प्रदेश, कर्पोरेट हाउस, ठूला उद्यमीहरुलाई पनि समानुपातिक ढंगले वितरण हुने गरी सो सेयर बाँडफाँड गर्ने मन्त्री बास्कोटाको योजना छ ।

 

नेपाल टेलिकममा हाल ९२ प्रतिशत सेयर सरकारको रहेको छ बाँकी ८ प्रतिशत सेयर टेलिकमका कर्मचारीसहित पब्लिकको रहेको छ । मन्त्री बास्कोटाले अव ६६ प्रतिशत सेयर मात्रै सरकारले राखेर बाँकी २६ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने बताए ।मन्त्री बास्कोटाले मुनाफा बाहिर जाने भएकाले नेपाल टेलिकमलाई अघि बढाउन रणनीतिक साझेदार खोजी नगर्ने निर्णय लिइएको पनि स्पष्ट पारे । रणनीतिक साझेदारले आफूले पाएको मुनाफा आफ्नै देशमा लैजाने भएकाले आफूहरुले रणनीतिक साझेदार ल्याउन नचाहेको मन्त्री बास्कोटाको भनाई छ । उनले नेपाल टेलिकमले प्रगति गरिरहेको र त्यसमा जनताको अपनत्व अनुभूति गराउन पनि आफूहरुले सर्वसाधारणको लागि उल्लेख्य सेयर जारी गर्ने तयारी गरेको पनि स्मरण गराए । नेपाल टेलिकममा बजार पूँजीकरण हाल १ खर्ब ८ अर्ब १५ करोड रहेको छ । यसको हाल ल्यान्डलाइन, जीएसएम मोबाइल, सीडीएमए र इन्टरनेट सेवा गरि एक करोड भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् ।

Share this news: