सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

विद्युतीय दुर्घटनाबाट वच्न गुणस्तरीय उपकरणको प्रयोग, सुरक्षाका उपकरण अवलम्वन गरी दुर्घटनाबाट बचौं

उर्जा

nepal-electricity-authority

विद्युतीय दुर्घटनाबाट वच्न गुणस्तरीय उपकरणको प्रयोग, सुरक्षाका उपकरण अवलम्वन गरी दुर्घटनाबाट बचौं

सुनाखरी न्युज/ काठमाडौं – दैनिक रुपमा विद्युत आपूर्ति नहुने पीडादायक अवस्थाबाट मुक्त भएको धेरै भएको छैन । लोडसेडिङ्ग मुक्त भए पछि आम नेपालीको दैनिकीमा सहज मात्र भएको छैन, उर्जा अभावमा धराशायी भएको मुलुकको समष्टिगत अर्थतन्त्रमा पुनः गुणात्मक, परिमाणात्मक र सकारात्मक प्रभाव परेको छ । हाल सम्म प्राप्त उपलब्धीलाई दीगो राख्दै विद्युत सेवालाई थप भरपर्दो, सुरक्षीत र सुलभ बनाउन विद्युत प्राधिकरण क्रियाशील छ । नियमित विद्युत आपूर्ति भए संगै एका तर्फ विद्युत प्रणाली, प्रशारण र वितरण प्रणालीमा थप विद्युत भारको चुनौती छ भने अर्को तर्फ विद्युतीय सुरक्षामा ध्यान नदिंदा दुर्घटनाबाट धन जनको क्षति पनि भइरहेको छ । सतर्कता पूर्वक विद्युत सुरक्षामा दृष्टि नदिंदा विद्युत दुर्घटनाबाट घाईते हुने र अकालमा ज्यान गुमाउनु परेको दुःखद बास्तविक्ता हाम्रा सामु छन् । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सुरक्षामा विशेष महत्व दिएर विद्युत वितरण प्रणालीमा प्रयोग हुने सामान, निर्माण कार्य परामर्श सेवा र अन्य सेवा खरिदमा स्तरीय मापदण्ड तय गरी लागु गरेको छ र मापदण्ड विपरीतका कार्य गर्न रोक लगाएको छ ।

 

प्राविधिक मापदण्ड अनुसार नै निर्माण कार्य, मर्मत संभार कार्य आदीमा प्रयोग हुने सामाग्रिको गुणस्तर कायम गर्न कडाइका साथ प्रस्तुत हुन प्राधिकरण प्रतिवद्ध छ । हावाहुरी, चट्याङ्ग जस्ता प्राकृतिक प्रकोप, प्राधिकरणको जिर्ण वितरण प्रणाली, धेरै लामो वितरण लाईनको तार मार्फत विद्युतीकरण, भित्र संरचना निर्माण गर्नु, अन्य निकायबाट समन्वय नगरी काम गर्दा विद्युत संरचना असुरक्षित हुनु, घरायसी प्रयोजनमा प्रयोग हुने कमसल विद्युतीय उपकरणको प्रयोग, हुकिङ्गबाट विद्युत चोरी र जनचेतनाको अभाव आदी कारणले यस्ता दुर्घटना हुने गरेका छन् । विद्युतीय सुरक्षा प्रतिको संवेदनसिलता, सचेतनाको अभावमा विद्युत कामदार र उपभोक्ता वर्ग विद्युत दुर्घटनाको जोखिममा रहेको तथ्यलाई मनन गरी यसको न्यूनीकरणका लागि जनमानसमा सचेतना जगाउन र विशेष गरी लाईनमा काम गर्ने कर्मचारीमा सुरक्षाको प्रत्याभुति दिन विशेष रुपमा सुरक्षा अभियान संचालन गर्नु आजको आवश्यक्ता हो । जोखीमपूर्ण अवस्थामा रहेका जीर्ण, पोल तार र लाईन सामाग्री फेर्ने, सुरक्षात्मक प्रणाली सुधारका लागी पुराना सवस्टेशनको स्तरोन्नती गर्ने, ट्रान्सफरमरको क्षमता वृद्धि गर्ने, कन्डक्टरको क्षमता वृद्धि गर्ने, इन्सुलेटेर कन्डक्टरको प्रयोग गर्ने लगायतका कामहरु निरन्तर रुपमा अगाडि बढाईएका छन् । विद्युत वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्व बुझाउने, सुरक्षात्मक उपकरणको प्रयोग गर्न लगाउने, विद्युत माग र आपूर्ति पक्षको व्यवस्थापन गर्ने र किफायती उपकरणको प्रयोगमा जानकारी गराई गुणस्तरीय उपकरण मात्र प्रयोग गर्न समग्र उपभोक्ता वर्गलाई जनचेतना जगाउने आदी कार्यहरु निरन्तर भइरहेको छ ।

 

नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स  को संयुक्त आयोजनामा विगत २ वर्ष यता विद्युतीय दुर्घटना न्यूनीकरणका लागी जनचेतना दिन हरेक वर्ष २६ चैत्रमा विद्युतीय सुरक्षा दिवस मनाउन सुरु गरिएको छ । सुरक्षीत विद्युत सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रण कार्यको उपभोक्तामा वढी भन्दा वढी सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउनु यो दिवसको मुख्य उद्देश्य हो । यस वर्षको विद्युतीय सुरक्षा दिवको नारा “विद्युत दुर्घटनाबाट बच्न सचेत रहांै, सम्वृद्धिको लागी विद्युतको सदुपयोग गरांै ।” तय गरिएको छ ।अन्तमा विद्युतीय दुर्घटनाबाट वच्न गुणस्तरीय उपकरणको प्रयोग सुरक्षाका उपकरण अवलम्वन गरी दुर्घटनाबाट बच्न र विद्युतीय सुरक्षा दिवसमा आ–आफ्नो ठाउँबाट सहभागी वनी कार्यक्रमलाई सफल बनाई दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

Share this news: