सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

नेपाल टेलिकमको नाफा १५ प्रतिशतले खस्कियो

शेयर

NTC-Building

नेपाल टेलिकमको नाफा १५ प्रतिशतले खस्कियो

सुनाखरी न्युज/ काठमाडौं – नेपाल टेलिकमको खुद नाफा १५ प्रतिशतले घटेको छ। सार्वजनिक अपरिस्कृत तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले नौ महिनामा ९ अर्ब ९८ करोड खुद नाफा कमाएको छ। गत वर्षको यस अवधिमा ११ अर्ब ८५ करोड कमाएको थियो। कम्पनीको आम्दानी नै घटेपछि नाफामा ठूलो गिरावट देखिएको हो। ९ महिनामा कम्पनीले कुल २७ अर्ब ५० करोड आम्दानी गरेको छ। जवकि गत वर्ष यस अवधिमा २९ अर्ब ३९ करोड आम्दानी भएको थियो। निजी क्षेत्रसँग प्रतिस्पर्धा बढ्नु र कम्पनीले सहुलियतपूर्ण भ्वाइस तथा इन्टरनेटका डाटा प्याकेजहरु प्रदान गर्दै जाँदा नाफामा असर परेको हो।

 

अर्कोतर्फ सामाजिक संजालमार्फत सन्देश आदानप्रदान बढ्दै जाँदा चुनौति थपिएको कम्पनीले जनाएको छ। कम्पनीको नाफामा गिरावट आउँदा अन्य सबैजसो सूचकहरुमा धक्का पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८८ रुपैयाँ ७५ पैसामा झरेको छ। गत वर्ष यो १०५ रुपैयाँ ३९ पैसा थियो। प्रतिसेयर खुद सम्पत्ति मूल्य ९नेटवर्थ० ६७६ रुपैयाँ छ। १५ अर्ब सेयर पुँजी रहेको कम्पनीमा हाल ९२ प्रतिशत स्वामित्व सरकारको छ। बाँकी ८ प्रतिशत हिस्सा सर्वसाधारण तथा कर्मचारीको छ। सर्वसाधारणतर्फ सरकारले सेयर हिस्सा बढाएर २६ प्रतिशत पुर्याउने बताउँदै आएको छ।

 

कम्पनीको रिजर्भमा ८६ अर्ब ४० करोड रुपैयाँ छ। गत आर्थिक वर्षको नाफाबाट कम्पनीले प्रतिसेयर ५५ रुपैयाँका दरले लगानीकर्तालाई लाभांश दिएको थियो। कम्पनीले लगानीकर्तालाई नगद लाभांश मात्रै प्रदान गर्दै आएको छ। कम्पनीको नाफा बढ्न नसकेपछि धितोपत्र बजारमा यसको मूल्य समेत बढ्न सकेको छैन। एक वर्षअघि ७६० रुपैयाँ प्रतिसेयर मूल्य रहेकोमा अहिले ७१० रुपैयाँको हाराहारीमा छ।

Share this news: