सुनाखरी न्युज
२०७६ भदौ ३ , मंगलबार

सहकारीलाई वेवास्ता गरेर स्थानीय सरकार बलियो हुदैन : उपप्रमुख खनाल

देश–प्रदेश

Capture

सहकारीलाई वेवास्ता गरेर स्थानीय सरकार बलियो हुदैन : उपप्रमुख खनाल

सुनाखरी न्युज/ तनहुँ – राष्ट्रिय सहकारी बैक लिमिटेड दमौली शाखाको आयोजनामा तनहुँको भिमाद नगरपालिकामा एक दिने सहकारी ऐन, नियमावली र सहकारी बैंक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले सामाजिक न्याय सहितको व्यवसाय गर्ने क्षेत्र सहकारी भएकाले सहकारीलाई वेवास्ता गरेर समृद्धि संभवन नभएको बताउनु भयो । स्थानीय सरकारलाई बलियो बनाउनका लागि सहकारीको प्रवद्र्धन गर्नु पर्नेमा जोड दिदै उहाँले सहकारीलाई वेवास्ता गरेर स्थानीय सरकार बलियो बन्न नसक्ने धारणा राख्नु भयो । जनतासंग प्रत्यक्ष सम्बन्ध भएको, वित्तीय कारोबार लगायत उत्पादन, प्रशोधन र बजारीकरणका लागि सहकारी र स्थानीय तहबीच सहकार्य हुनु पर्नेमा उहाँको जोड थियो । सहकारी बैंक र स्थानीय तहहरुबीच सहकार्य गरेर सहकारी संघ संस्थाहरुलाई व्यवस्थित बनाउन पहलकमदी आवश्यक रहेको उहाँको भनाइ थियो ।

 

कार्यक्रममा सहकारी ऐन, नियमावली र राष्ट्रिय सहकारी बैंक विषयमा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको थियो । सञ्चालक जिसीले सहकारी संघ संस्थाहरुको वित्तीय क्षमता विकाससंगै संस्थागत विकास र सहकारीकर्मीहरुको क्षमता विकासका लागि सहकारी बैंकले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सहकारीको व्यवसायलाई उत्पादन, प्रशोधन र बजारीकरणसंग जोड्दै समाज रुपान्तरणका क्षेत्रमा प्रभावकारी काम गर्न सहकारी संघ संस्थाको क्षमता विकास गर्न आवश्यक रहेको उहाँको भनाई थियो । कार्यक्रममा नेपाल कृषि केन्द्रीय सहकारी संघका सञ्चालक नारायण खनाल, जिल्ला सहकारी संघ तनहुँका कोषाध्यक्ष दुर्गाप्रसाद पराजुली, जिल्ला कृषि सहकारी संघ तनहुका अध्यक्ष रामजी लौडारी लगायतले तनहुँ जिल्लाको भुबनोट अनुसार क्षेत्रीय स्तरमा शाखा सञ्चालन गर्न सहकारी बैंकलाई आग्रह गर्नु भएको थियो । सहकारीहरुले आफ्नै बैंकसंग कारोबार गर्न नसक्ने अवस्थाको अन्त्यका लागि शाखा, उपशाखा वा शाखारहित सेवा दिएर भए पनि सबै सहकारीलाई सहकारी बैंकमै कारोबार गर्ने वातावरण सिर्जना गर्न उहाँहरुको माग थियो ।

 

कार्यक्रम राष्ट्रिय सहकारी बैंक दमौली शाखा व्यवस्थापन उप–समितिका संयोजक अमरबहादुर कुँवरको अध्यक्षता, दमौली शाखा प्रमुख उपेन्द्र दाहालको सञ्चालन र कामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड भिमादका उपाध्यक्ष खिमाकान्त पराजुलीको स्वागतमा सम्पन्न भएको थियो ।कार्यक्रममा तनहुँको भिमाद नगरपालिका, शुक्लागण्डकी, रिसिङ्ग, म्याग्दे गाउँपालिका तथा पाल्पाको रामपुर क्षेत्रका विभिन्न सहकारी संघ–संस्थाका सहकारीका अध्यक्ष र ब्यवस्थापकहरु, प्रतिनिधि तथा कर्मचारीहरु गरी ६० जनाको सहभागिता रहेको थियो ।

Share this news: