सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण

घुमफिर–पर्यटन

Capture

साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण

सुनाखरी न्युज/सोलुखुम्बु – साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेक्नुभएको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाले जनाएको छ । लामो समयदेखि आरोहण क्षेत्रमा रहनुभएका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको हो । कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् । कम्पनीका टासी लाक्पा शेर्पाले यो राष्ट्रकै गौरवको कुरा भएको बताउनुभयो ।

 

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताउनुभएको थियो । बौद्ध धर्मअनुसार एक महीनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताउनुभयो । यसअघि २१ पटक सगरमाथा चढिसक्नुभएका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहण बाट सन्यास लिइसक्नु भएको छ ।

Share this news: