सुनाखरी न्युज
२०७६ भदौ ३ , मंगलबार

नेपालमा बीमा बजारको भविष्य राम्रो छः भोजराज शर्मा, बीमा विज्ञ

अन्तर्वार्ता

bhojraj-sharma

नेपालमा बीमा बजारको भविष्य राम्रो छः भोजराज शर्मा, बीमा विज्ञ

विश्व बजारका साथसाथै नेपालमापनि बीमाको सुरुवात भएको लामो समय भइसक्दा पनि नेपालमा बीमाको पहुँच विस्तार हुन सकिरहेको छैन । बीमा मानिसहरुमा अनिवार्य हो । मानिसहरुमा बीमा शिक्षा कमी भएता पनि नेपाली बीमा बजार पछिल्लो समयमा फस्टाउँदै आएको छ । सहरमा भन्दा पनि गाउँमा बीमा शिक्षा अत्यन्त कम छ । त्यसकारण बीमा शिक्षा बढाउनका लागि बीमा समिति र बीमा कम्पनिहरुको भुमिकाका विषयमा बीमा विज्ञ भोजराज शर्मासँगको कुराकानीको सम्पादित अंश:

नेपालमा बीमा शिक्षाको अवस्था कस्तो छ ?
नेपालमा बीमा साक्षरता सन्तोषजनक छैन । गाउँ गाउँका मानिसहरुलाई बीमा भनेको थाहा नै छैन । बीमा बारे थाहा हुने नेपालीहरु अत्यन्त न्युन छन् । सहरका मानिसहरुलाई बीमा बारे केही कुरा थाहा भए तापनि ग्रामीण भेगका मानिसहरुमा बीमा शिक्षा अत्यन्त कम छ । कृषि बीमा आएपछि केही हदसम्म बीमा साक्षरता बढेको हो । नेपाल सरकारले कृषिमा ७५ प्रतिशत अनुदान दिएपछि बीमा बढ्दै आएको हो । साथै भुकम्पपछि मानीसहरुमा बीमा गर्नुपर्दो रहेछ भन्ने चेतनाको विकास हुँदै आएको छ । यद्यपि, धेरै मानिसहरुले अनुदानको आशमा कृषि बीमा गरे पनि घरको बीमा गरेका हुँदैनन ।

अहिले बीमाको बजार फराकिलो भइसकेको छ । तर पनि सबै मानिसहरु बीमामा समेटिएका छैनन् । १०।११ प्रतिशत नेपालीहरुको मात्रै बीमामा संलग्नता रहेको छ । पहिलेको तुलनामा भने बीमाको पहुँच बढेको भए तापनि यो पर्याप्त छैन । बीमा समिति र बीमा कम्पनीहरुका कारण नभई मुलुककै कमजोर अवस्थाका कारण बीमाको पहुँच नबढेको हो । बीमा पहुँच वृद्धिका लागि बीमा समिति र बीमा कम्पनीहरु अग्रसर हुँदै आएका छन् । बीमा कम्पनीहरु धेरै खुलेका छन् तर क्षमता अभिवृद्धिको रुपमा अगाडी बढ्न सकेका छैनन् । वित्तीय रुपमा मात्रै अघि बढेका छन् । बीमा क्षेत्रका कर्मचारीहरुमा दक्षताको कमी छ । यसै तथ्यलाई मध्यनजर गर्दै हालै बीमा समिति र बीमा कम्पनीहरुको सहकार्यमा बीमा तालिम इन्स्टिच्युटको सुरुवात गरिएको छ । यस इन्स्टिच्युटमार्फत बीमा क्षेत्रका कर्मचारीहरुको क्षमता बढाउने अपेक्षा गरिएको छ ।

बीमा पहुँच बढाउनका लागि बीमा समितिले विभिन्न किसिमका योजनाहरु ल्याएको छ । बीमा लेखहरु सबैले बुझ्ने गरी सुलभ र सरल बनाएको छ । ग्रामीण भेगमा बीमा कम्पनीको उपस्थिती बढाउनका लागि गाउँमा दुई वटा शाखा विस्तार गरेपछि मात्रै सहरमा एउटा शाखा विस्तार गर्ने अनुमति दिने व्यवस्था गरिएको छ । त्यस्तै, लघुबीमाको अवधारणालाई पनि प्राथमिकताका साथ अगाडी ल्याइएको छ ।

बीमा कम्पनीहरु थपिँदा बीमा बजारमा कस्तो प्रभाव परेको छ ?
पछिल्लो समयमा बीमा कम्पनीहरुको संख्या धेरै बढेको छ । यसले बीमा बजारमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ । डिमाण्ड नभई सप्लाई मात्रै बढी भएको हो कि भनेर हामी डराएका पनि थियौँ । तर, बीमा समितिको नियमनभित्र बस्छौँ भन्ने कम्पनीहरुलाई अनुमति दिएपछि अहिले शाखाको विस्तार राम्रोसँग भएको छ । यसले गर्दा बीमा बजार फस्टाएको छ, बीमाको पहुँच बढिरहेको छ । सप्लाईले डिमाण्डलाई क्रिएट गरिरहेको छ ।

पहिला र अहिलेको बीमा क्षेत्रको अवस्थामा के फरक छ ?
बीमा क्षेत्रमा सन्तोकजनक अवस्था छैन । पछिल्लो समयमा अनिवार्य रुपमा गर्नुपर्ने बीमाका कारण बीमा बजार बढेको छ । मोटर बीमा अनिवार्य भएकाले गर्दा मोटर चलाउने चालकले बीम गरेका छन् । बैंकहरुले ऋण प्रवाह गर्दा लिने धितोको अनिवार्य रुपमा बीमा गरिएको हुनुपर्छ । यस्ता खालका व्यवस्थाले गर्दा बीमा बढेको छ । तर, यसलाई बीमाको पहुँच बढेको भन्न मिल्दैन ।

म बीमा क्षेत्रमा आवद्ध हुने बेलामा कुनै पनि बीमा अनिवार्य थिएन । त्यतिबेला वस्तुहरुको मूल्य पनि कम थियो । त्यसआधारमा बीमाको रेट पनि कम हुन्थ्यो । जीवन बीमा २५।५्र० हजारमा गरिन्थ्यो । अहिले त्यो अवस्था छैन । एउटै गाडीको ३०।४० लाख पर्छ भने एक करोडभन्दा कममा घर पाइँदैन । यस्तो ठूलो सम्पत्तिको नोक्सान हुने डरले पनि मानिसहरु बीम गर्न थालेका छन् ।

बीमा समितिको मूख्य उद्दे्रश्य के हो ?
जसरी नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्दछ, त्यसैगरी बीमा कम्पनहीरुको नियमन बीमा समितिले गर्छ । सबै बीमा कम्पनीहरुलाई एउटा सही मार्गदर्शन गरी जनताहरुको सुरक्षाका लागि रेखदेख गर्न र बीमा कम्पनीहरुका लागि विभिन्न नीति नियमहरु तर्जुमा गर्नका लागि बीमा समितिको भुमिका गहन छ । बीमा उद्योगलाई स्वस्थ विकासमा लिएर आउनु नै बीमा समितिको उद्देश्य हो । बीमा क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेलेको छ । बीमाबाट उठेको करोडौँ रुपैयाँ नेपालमै लगानी भएको छ ।

नेपालको बीमा र अन्तरराष्ट्रिय बीमामा के फरक छ ?
बीमाको सिद्धान्त एउटै हो । विदेशी इन्स्योरेन्स एशोसिएसनमा नेपाल पनि संस्थापक सदस्य रहेको छ । हामी पनि अन्तरराष्ट्रिय मान्यता हनुसार नै चल्नुपर्छ । हामीले आफैँ बीमाका सिद्धान्तहरु बनाएर काम गर्न सक्दैनौँ । बीमाका ५ वटा सिद्धान्त हुन्छन् । बीमा समितिले विदेशमा पुनर्बिमा गर्नुपर्ने भएकाले भाषा पनि एउटै हुनुपर्छ ।

नेपालको बीमा क्षेत्रमा सुधार गर्नुपर्ने कुराहरु के के छन् ?
नेपालमा बीमा शिक्षाको अवस्था एकदमै दयनीय छ । त्यसैले, सबै मानिसहरुमा बीमा चेतना फैलाउनु नै सबैभन्दा ठूलो आवश्यकता बनेको छ । यसका अलावा बीमा मुल्य सबैलाई सुलभ र सरल बनाउनुपर्छ ।

बीमा पोलीसीहरु पनि सबैले बुझ्ने बनाउनुपर्छ । बीमा कम्पनीहरु मात्रै नभएर सर्वसाधारण आफैँले पनि आफ्नो सम्पत्ति र जीवनको सुरक्षाका लागि आफैँ सजग हुनुपर्छ ।

Share this news: