२०८० चैत्र १५ , बिहिवार

आगामी बजेटमा आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकास विशेष प्राथमिकतामा (दस्तावेजसहित)

सुनाखरी न्युज/ काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित हुने बताएका छन्।

 

अर्थमन्त्री शर्माले संघीय संसदमा आज आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । अर्थमन्त्री शर्माले आगामी बजेटले शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारको क्षेत्रमा विशेष प्राथमिकता दिनुका साथै करमुखी अर्थतन्त्रलाई परिवर्तन गर्दै मुलुकलाई उत्पादनमुखी अर्थतन्त्रमा लाने बजेटको सिद्धान्त तथा प्राथमिकता रहेको बताए।

 

बजेट आयात घटाउने, निर्यात प्रवर्द्धन गर्ने र आत्मनिर्भर अर्थतन्त्र विकासमा केन्द्रित हुने शर्माले बताए। उनले भने, ‘यसका लागि विदेशी लगानी भित्र्याउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादनमा जोड दिइनेछ।’ शर्माले अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने र सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाइनेसमेत बताए। ‘कृषि र उद्योग प्रवर्द्धन गर्दै तुलनात्मक लाभका क्षेत्रलाई सरकारले बजेटमा सम्बोधन गर्नेछ’, उनले भने, ‘राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी बजेट आउनेछ।’

 

शर्माका अनुसार निरपेक्ष गरिबी, सीमान्तकृत, दलित तथा आमजनताका आधारभूत आवश्यकता पूरा हुने गरी बजेट आउनेछ। ‘सार्वजनिक ऋणलाई वाञ्चित सीमाभित्रै राख्दै आर्थिक स्थायित्व कायम गरिनेछ’, उनले भने। बजेटले सिद्धान्त समाजवाद उन्मुख अर्थतन्त्रतर्फ केन्द्रित रहने शर्माले बताए। खेतीयोग्य सबै जमिनको उपयोग, गर्ने, जमिनमा सामूहिक खेती प्रणालीलाई आगामी बजेटमा जोड दिइनेछ। औद्योगिक विकास, उद्योगको क्षेत्र बढाउने, औद्योगिक ग्राम बढाउने, उत्पादनमुलक उद्योग उतपादन गर्न प्रोत्साहन दिइनेसमेत शर्माले बताए। संघीय संसदमा प्रस्तावित विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकताको सम्बन्धमा जेठ ४ र ५ गते छलफल हुनेछ।