२०८० चैत्र १५ , बिहिवार

कानुनी रुपमै दर्ता भयो विद्युतीय मोटरसाइकल यात्री, अब नम्बर प्लेटसहित सडकमा गुड्ने

सुनाखरी न्युज/ काठमाडौं । नेपालको पहिलो विद्युतीय बाइक यात्री मोटरसाइकलको कानुनी रुपमै पहिलो पटक दर्ता भएको छ । यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल)मा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको यात्री मोटरसाइकलले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । योसँगै आयातको कागजबिनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।

 

गत वर्षको १५ मेमा यात्री मोटरसाइकलले पहिलो पी–१ बाइक ग्राहकलाई डेलिभर गरेको थियो, संयोगले त्यसको एक वर्षपछि आज १५ मे मै यात्रीको पी–१ मोटरसाइकल नेपालमा उत्पति भएको पहिलो सवारीका रुपमा दर्ता भएको छ । पी–१ यात्रीले नेपालमै उत्पादन गरिहरेको विद्युतीय मोटरसाइकल हो । सवारी दर्ता भएर नम्बर प्लेट र ब्लुबुक पाएपछि यात्रीले एक वर्षको बीचमा ‘पी–१’ देखि ‘स्पेसल सिरिज–१’सम्मको यात्रालाई स्मरण गरेको छ । ‘हामीसँग यो इतिहास रच्नका मद्दत गर्ने हाम्रा विशेष प्रयोगकर्ताहरूप्रति सधैं कृतज्ञ छौं,’ यात्रीले भनेको छ । कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित यातायात व्यवस्था विभाग र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ ।

 

विभागका अनुसार १४ वैशाखमा निर्देशिका संशोधनम गरी नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएपछि यात्रीले मूल्य अभिवृद्धि कर ९भ्याट० बिल, अन्तःशुल्क निकासी फारमका आधारमा बाइक दर्ता हुन पाएको हो । यसअघि नेपालमा हुलास मोर्टसले बनाएका ‘मुस्ताङ’ लगायतका सवारीको च्याचिसलगायतका पार्ट विदेशबाट आयात गरी सोही प्रज्ञापनपत्र ९एलसी०का आधारमा नेपालमा दर्ता हुन दिइएको थियो । यसअनुसार नेपालमा बनेपनि ती सवारीको दर्ता भन्सार प्रज्ञापनपत्रकै आधारमा हुन्थ्यो । तर, यात्रीले मोटरसाइकलको च्याचिस पनि नेपालमै विकास र युनिक आइडेन्टीफिकेसन नम्बर लिएको हो । बाइकका विभिन्न भागहरु आयात गरिने भएपनि प्लाटफर्म नेपालमै विकास भएकाले प्रज्ञापनपत्र नहुँदा यसअघि दर्ता गर्न समस्या परेको थियो ।

 

सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेपछि यात्रीले दर्ताको अवसर पाएको हो। नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तः शुल्क निकासी फारम समेत पेश गर्नु पर्ने व्यवस्था सरकारले गरेको छ ।

 

यो सँगै नेपालमा बनेका विद्युतीय र पेट्रोल–डिजेलबाट चल्ने सबै खालका सवारी दर्ता गर्न बाटो खुलेको छ । कानुन बाधक भएकाले नेपालमै बनेको विद्युतीय मोटरसाइकलहरु दर्ता हुन नसकेपछि सरकारले विद्युतीय सवारी दर्ता प्रक्रिया खुला गरेको थियो । नेपालमा बनेको विद्युतीय बाइक ‘यात्री’ले नम्बर प्लेट नपाएपछि ट्राफिक प्रहरीको स्पष्टीकरणको मार खेप्नु परेको थियो भने उत्पादन बन्द गर्ने स्थितिमा पुगेको थियो ।