सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

बिना प्रतिस्पर्धा पौने २ अर्बको ठेक्का फ्रान्सेली कम्पनीलाई दिइयो, मध्यरातमा भयो ठेक्का सम्झौता

अर्थ

Sunakhari Big Ladder

बिना प्रतिस्पर्धा पौने २ अर्बको ठेक्का फ्रान्सेली कम्पनीलाई दिइयो, मध्यरातमा भयो ठेक्का सम्झौता

सुनाखरी न्युज/

काठमाडौँ — सरकारले बिनाप्रतिस्पर्धा १६ मिलियन अमेरिकी डलर अर्थात पौने दुई अर्ब रुपैयाँको ठेक्का फ्रानसेली कम्पनिलाई दिएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार राति फ्रान्सेली कम्पनी आइडेमियासँग ठेक्का सम्झौता गरेको हो ।

एक लाख राष्ट्रिय परिचयपत्र समयमै छाप्न नसकेको फ्रान्सेली कम्पनीसँग परिचयपत्र छपाइको पूर्वाधार निर्माण र ४ वर्षका लागि सेवा दिने गरी सम्झौता गरिएको हो। मन्त्रिपरिषद् बैठकले केही समयअघि आइडेमियासँग छलफल गर्न विभागलाई निर्देशन दिएको थियो। मन्त्रिपरिषदको निर्णयअनुसार विभागले आइडेमियाका प्रतिनिधिसँग छलफल (नेगोसियसन) गरी ठेक्का सम्झौता गरेको हो । विभागका प्रवक्ता शिवराज जोशीले बुधबार राति आइडेमियासँग सम्झौता भएको बताए ।

सार्वजनिक खरिद नियमावलीअनुसार सरकारी निकायले दस लाख रुपैयाँभन्दा माथिको कुनै पनि मालसामान, सेवा वा कुनै निर्माण कार्य गराउँदा बोलपत्रको माध्यम अपनाउनुपर्छ। सामान्यतया तीन करोड रुपैयाँभन्दा बढी रकमको परामर्श, सेवा खरिद गर्नुपरे अन्तर्राष्ट्रियस्तरको आशयपत्र माग गर्नुपर्ने प्रावधान सार्वजनिक खरिद नियमावलीमा छ।

विभागका महानिर्देशक दीपक काफ्ले सम्पर्कमा आउन चाहेनन्। गृह सचिव प्रेमकुमार राईले केही महिनाअघि मन्त्रिपरिषद्ले सम्झौता गर्ने अधिकार विभागलाई दिएको भए पनि सम्झौता भएको वा नभएको विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए।

 

परिचयपत्र छपाइका लागि सरकारले २०७२ जेठ १४ गते अन्तर्राष्ट्रिय बोलपत्र आहवान गरेको थियो। सहभागी ६ वटा विदेशी कम्पनीमध्येबाट २०७३ जेठमा फ्रान्सेली कम्पनीलाई छनोट गरिएको थियो।

Share this news: