सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

बर्षभरी कानमा तेल हालेर वसेकालाई आर्थिक बर्षको अन्त्यमा पैसा सक्ने चटारो, दैनिक पाँच-छ अर्ब खर्च

ट्रेन्डिङ

MOF

बर्षभरी कानमा तेल हालेर वसेकालाई आर्थिक बर्षको अन्त्यमा पैसा सक्ने चटारो, दैनिक पाँच-छ अर्ब खर्च

सुनाखरी न्युज/
काठमाडौं-
बर्षभरी कानमा तेल हालेर वसेका ब्यक्ति तथा निकायले आर्थिक वर्ष सकिनै लाग्दा सरकारको दैनिक विकास खर्च अत्यधिक बढाएका छन् । महालेखा नियन्त्रक कार्यालयले असार १५ पछि दैनिक एक अर्ब रुपैयाँ हाराहारीमा खर्च हुँदै आएकोमा पछिल्ला दिनहरुमा दैनिक पाँच÷छ अर्ब रुपैयाँ खर्च भएको जनाएको छ ।

असारमै विकास खर्चको ४० देखि ४५ प्रतिशत खर्च हुने क्रमलाई दुई तिहाइ नेतृत्वको सरकारले पनि निरन्तरता दिएको छ। असारमा मात्र झन्डै ३४ अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्षमा विनियोजित ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँमध्ये असारमा मात्र ६८ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ। ‘सबै खर्च गर्ने निकायले चालू खर्चतर्फ प्रायः असार २५ सम्म गर्ने भुक्तानी नै अन्तिम हो,’ महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाले भने ।

चालू आर्थिक वर्षका लागि तीन खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ विकास खर्च विनियोजन भएकोमा असार २५ सम्म ५९ प्रतिशत बजेट खर्च भएको छ। केही वर्षअघिदेखि भुक्तानी हस्तान्तरणमा विद्युतीय प्रणाली अवलम्बन गरेसँगै कोष तथा लेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष समाप्त हुने अघिल्लो दिनसम्म भुक्तानीको चेक काट्न सक्छन्।

निर्वाचनपछि नयाँ सरकार गठनसँगै विकास निर्माणका कामले तीव्रता पाउने अपेक्षा गरिएको थियो। तर खर्च गर्ने परिपाटीमा कुनै सुधार आएको देखिँदैन।

Share this news: