सुनाखरी न्युज
२०७६ मंसिर ३० , सोमवार

बजारको माग अनुसार सुनको आपूर्ति हुनु पर्दछ: सुनार

अन्तर्वार्ता

Mohan

बजारको माग अनुसार सुनको आपूर्ति हुनु पर्दछ: सुनार

मोहन कुमार सुनार, अध्यक्ष- नेपाल सुनचाँदी ब्यवसायी महासंघ

 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लाग्दै आएको छ । अमेरिका र इरानबीचको द्वन्द्वका कारण सुनको मूल्य अकासिएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पनि पर्न गएको छ । सुनको मूल्य एक्कासि बढेपछि त्यसको प्रत्यक्ष असर आमउपभोक्तामा पर्न गएको  छ ।  मूल्य वृद्धिसँगै बजारको अवस्था के छ, आगामी दिनमा मूल्य बढ्ने सम्भावना के छ लगायतका विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन विश्वकर्मासँग गरेको कुराकानीको संपादित अंशः

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेको छ, अहिले आन्तरिक बजारको अवस्था के छ ?
आन्तरिक बजारको अवस्था एकदम सुनसानजस्तै छ । किनकि अहिले व्यापार छैन । सुनको बिक्री छैन । मूल्य बढेसँगै पछिल्लो समय सुनको गहना किन्नेभन्दा पनि बिक्री गर्ने मान्छे धेरै आउने गरेका छन् । त्यस कारणले गर्दा आन्तरिक बजारमा व्यापार ठप्पै अवस्थामा रहेको छ । गत वर्ष यो सिजनमा मुलुकभर दैनिक २० देखि २५ किलो सुन बिक्री गरेका थियौं । अहिले दैनिक मुस्किलले १० केजीसम्म मात्र सुनको बिक्री हुने गर्छ । हिजोआजको अवस्था हेर्ने हो भने यो पनि कम हुने जस्तो छ । समग्र रूपमा सुनको कारोबार एकदम कम छ ।

सुनको मूल्य बढ्नुका कारणहरू के–के हुन् ?
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अत्यधिक वृद्धि भएकाले स्वाभाविक रूपमा नेपालमा त्यसको असर परेको छ । अहिले आएर विश्व बजारमा सुनको भाउ बढ्नुको पछाडि दुई÷तीनवटा कारण छन् । एउटा अमेरिका र चीनबीचमा व्यावसायिक द्वन्द्वले गर्दा सुनको मूल्य बढ्न गएको छ । अमेरिकाको फेडरल बैंकले निक्षेपमा शून्य दशमलव २५ प्रतिशत ब्याजदर घटाएको छ, जसका कारणले गर्दा पनि मानिसहरू सुन खरिद गर्न आकर्षित भएका छन् । अमेरिकाले चीनबाट आयात हुने वस्तुमा ३ सय बिलियन डलरमा थप ३ सय प्रतिशत कर लगाउने निर्णय गरेको कारणले गर्दा पनि सुन महँगिन गएको देखिन्छ । त्यस्तै अर्को कारणमा विश्व बजारमा सेयर मार्केट कमजोर भयो । सेयर बजार कमजोर भए पनि मानिस सेयरमा भन्दा पनि सुनमा आकर्षण बढी भएको देखिन्छ । इरान र इराकको बीचमा आणविक द्वन्द्वले गर्दा विश्व बजारमा सुरक्षित लगानीको क्षेत्र सुन देखिएकाले लगानीकर्ता आकर्षित हुन सुनको मूल्य बढ्न पुगेको हो । डलरको तुलनामा आयसी कमजोर हुँदा स्वाभाविक रूपमा नेपाली पैसा पनि कमजोर भएकाले पनि सुनको मूल्य बढ्न पुग्यो । समग्र रूपमा के भयो भने हामीले डलरमा सुन खरिद गर्नुपर्छ । गत १० साउनमा सुनको मूल्य बढेर प्रतितोला ६५ हजार रुपैयाँ पुगेको थियो । त्यससँगै सुनको मूल्य नियमित रूपमा उकालो लाग्ने क्रम जारी नै छ । तोलामा ६५ हजार हुँदै सुनको मूल्य बढेर ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । डलर मजबुत भयो, सेयर बजारमा सुधार भयो भने, बैंक ब्याजदर उच्च भएपछि मानिसले त्यसमा लगानी गर्छ, तर यो नभएपछि सुरक्षित लगानी सुन भएकाले पनि मूल्य पनि बढ्दै गएको छ ।

यसरी सुनको मूल्य बढेको बढ्यै हुने हो भने सुनचाँदी व्यवसायीलाई कस्तो असर पर्छ ?
यही अवस्था रहिरहन्छ भन्ने अवस्था पनि छैन । इतिहासमा हामीसँग के रेकर्ड छ भने तोलामा ६३–६४ पुगेको सुनको मूल्य घटेर ४७ हजारसम्म झरेको थियो । अन्तर्राष्ट्रिय बजारमा सेयर बजार सुधार, डलर मजबुत भयो र बैंकको ब्याजदर घट्यो भने सुनको मूल्य घट्न सक्छ । सुनको मूल्य तोलामा ७० हजार नै कायम रह्यो भने व्यवसाय त चलि नै हाल्छ, किनकि सुन भन्ने कुरा लगाउनै खरिद गरिन्छ । सुनको मूल्य बढ्यो भने कारोबार कम हुन्छ । यही मूल्य कायम रह्यो भने सुनको व्यापार कम हुन्छ । किनकि हामीसँग क्रयशक्ति नै कमजोर छ ।

तीज नजिकिँदै गर्दा पनि अहिले बजार सुनसान नै बनेको हो ?
सिजनको समय भए पनि सुनको मूल्य लगातार बढ्दै गएपछि कारोबार नै अत्यन्त न्यून हुँदा बजार सुनसानजस्तै छ । अहिले बजारमा सुनको माग नै कम हुने गरेको छ । अघिल्लो वर्ष सिजनको समयमा माग बढी भएर बजारमा सुनको अभावसमेत हुने गरेको थियो, तर यो वर्ष लगातार मूल्य बढेपछि कारोबार हुन सकेको छैन । अहिले अनिवार्य रूपमा आवश्यक परेपछि मात्र ग्राहकले सुन खरिद गर्ने गर्छन् । आफूसँग भएका गहना साटेर गहना लैजाने गर्छन् । अहिले मूल्य बढेकाले नयाँ गहना खरिद गर्ने भन्दा पुराना गहना बिक्री गर्ने ग्राहक बढी आउँछन् । सुनको मूल्य अझै माथि जान्छ अथवा घट्दै जान्छ भनेर अहिले नै भन्न सक्ने अवस्था छैन । आइतबार तोलामा ५ सय रुपैयाँ घटेको छ ।

मूल्य बढेपछि बैंकसँगै व्यवसायीसँग सुन होल्ड भएको हो ?
बजारमा सुनको कारोबार नहुँदा पछिल्लो समय बैंकमा सुन होल्ड भएको छ । सुनको मूल्य लगातार बढेका कारण किन्ने भन्दा पनि बिक्री गर्ने ग्राहक बढी आएकाले बैंकमा सुन थन्किएको हो । बैंकमा सुन किन होल्ड भएको छ भने हामीले एक महिना पहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमशः बढ्दै जाने देखिएपछि बैंकमा २ सय ५० किलो सुन रहेको अवस्थामा सुन नझिकाउनका लागि नेपाल राष्ट्र बैंक र बैंकर्स एसोसिएनलाई पत्राचार गरिसकेका छौं । हामीले जानकारी गराउँदा–गराउँदै पनि बैंकले सुन आयात गरेपछि अहिले बैंकमा सुन होल्ड भएको अवस्था छ । मूल्य बढेकाले किन्ने मान्छे कम र बिक्री गर्ने मानिस धेरै भएकाले पनि पछिल्लो समय बैंकसँगै व्यवसायीसँग पर्याप्त मात्रामा सुन होल्ड रहेको हो । अहिले अचानक अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले व्यापारमा स्लो भएको हो । अहिलेको अवस्था नहेरेर सामान्य अवस्थालाई हेर्ने हो भने त व्यवसायीलाई सुन अपुग छ नि । यस्तै अवस्था त केही समयमात्र रहने हो । त्यसैले व्यवसायीलाई सुन अभाव छ । व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक कच्चा पदार्थको आवश्यकता पर्छ भनेर हामीले सम्बन्धित निकायमा ज्ञापनपत्र गराएका छौं । हामीले सिजन र अफ सिजनमा सुनको कोटा माग गरेका छौं । सिजनमा दैनिक ३५ देखि ४० केजी बिक्री हुन्छ र अफ सिजनमा दैनिक २० देखि २५ किलोसम्म सुन बिक्री हुने गर्छ । यही अनुसार कोटा वितरण गर्न सरकारलाई एक वर्षको परीक्षणका लागि सुझाव दिएका छौं । २०६६ सालमा विदेशी विनिमय सञ्चितिको कारण देखाएर त्यतिबेलादेखि सुनको कोटा प्रणाली ल्याइएको थियो । त्यतिबेला नै हामीले व्यवसायीलाई कोटा प्रणाली उपयुक्त नभएको भनेका थियौं । व्यवसायलाई आवश्यकताअनुसार कच्चा पदार्थ आवश्यक पर्छ भनेका थियौं । त्यतिबेला ६ महिना परीक्षणका लागि विनिमय सञ्चिति कम देखाएर कोटा प्रणाली ल्याएको थियो । त्यतिबेला दैनिक १५ केजीको कोटा प्रणाली लागू गरिएको थियो । कोटा प्रणाली हटाएर व्यवसायीलाई आवश्यकताअनुसार कच्चा पदार्थको व्यवस्था गर्नुपर्छ भनेको थियो । एक वर्षका लागि परीक्षणका लागि दैनिक ३० किलो सुन व्यवस्थापन गर्नुप¥यो भनेका थियौं । सिजनका लागि ३५ देखि ४० सुन मगाउँछौं र अफ सिजनमा १५ देखि २५ किलो सुन मगाउन सक्छौं । त्यसो भने भयो व्यवसायीलाई व्यवसाय गर्ने वातावरण बन्छ र राज्यको सुनमा मात्र जाने विदेशी विनिमय बचत हुन्छ । जबसम्म राज्यले व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक कच्चा पदार्थको व्यवस्था गर्दैन तबसम्म व्यवसाय गर्ने वातावरण बन्न सक्दैन ।

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्नका लागि सुनचाँदी व्यवसाय निर्देशिका ल्याउने भनेर मस्यौदासमेत तयार गरिएको थियो, तर अहिलेसम्म आउन सकेको छैन । यसले व्यवसाय सञ्चालन गर्नका लागि कस्तो असर पारिरहेको छ ?
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्नका लागि नीति नियम निर्देशिका अति आवश्यक छ । २०६६ सालदेखि सुनचाँदी व्यवसायमा अनुगमनका कुरा आएपछि २०६९ साल व्यवसाय सञ्चालन गर्नका लागि निर्देशिका ल्याउनुपर्छ भनेर पहल गरिरहेका छौं । निर्देशिका ल्याएपछि निर्देशिकाभित्र रहेर व्यवसाय नगर्ने व्यवसायलाई कारबाही गर्न सकिन्छ । २०७३ माघ १७ मा नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघले संयुक्त रूपमा तत्कालीन आपूर्तिमन्त्री उपस्थित राष्ट्रिय भेला गरेर निर्देशिकाका मस्यौदा तयार गरेर वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएका छौं । अहिलेसम्म पनि निर्देशिकालाई सरकारी तवरबाट लागू गर्न सकिएको छैन । निर्देशिका ल्याउनका लागि सरकारी तवरबाट पहल हुन सकेको छैन । तत्काल निर्देशिका ल्याउनुपर्छ भनेर हामीले सरकारलाई भनिरहेका छौं । सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्नका लागि निर्देशिका नहुँदा व्यवसायलाई व्यस्थित गर्न कठिन भएको छ, जसका कारणले गर्दा पनि यसलाई जतिसक्दो छिटो ल्याउनका लागि पहल गरिरहेका छौं ।

व्यवसाय सञ्चालनका लागि के–कस्ता समस्या छन् ?
सुनचाँदी व्यवसायसम्बन्धी निर्देशिका नआउन्जेलसम्म व्यवसायलाई व्यवस्थित गर्न कठिन छ । सुनको गरगहना लगाइसकेपछि त्यसको निश्चित मात्रा नोक्सान हुन्छ भन्ने कुरा उपभोक्ताले बुझ्नुपर्छ । सुनको गहना ढिका लगाउने कुरा हुँदैन । गहना बनाउँदाखेरि अलिकति जर्ति लस हुनेगर्छ । कालिगढले गहना बनाउने गर्छ, त्यसको मेकिङ चार्ज लिने गर्छ । गहना बनाउँदा त्यसमा केही नोक्सान हुन्छ । त्यसैले हामीले के भनेका छौं भने निर्देशिकामा ज्याला, जर्ती निर्धारण गर्नुपर्छ । हामीले बनाएको निर्देशिकाको मस्यौदामा के भनेका छौं भने १० ग्रामसम्मका लागि क्रेता र बिक्रेताको आपसी समझदारीमा ज्याला, जर्ती निर्धारण गरिने भनेका छौं । १० ग्रामभन्दा माथिकोलाई ११ प्रतिशत जर्ती र ज्यालाचाहिँ क्रेता र बिक्रेताको आपसी समझादारीमा भनेका छौं । ढिका सुनलाई पगालेर गरगहना बनाउँदाखेरि अलिकति नोक्सान हुनेगर्छ । एक तोलाको गहना बनायौं भने २ प्रतिशत गुणस्तर घट्छ भनेका छौं । कानुनले व्यवस्था गरेअनुसार व्यवसायलाई मार्जिन रहनेछ भनेर भनेका छौं । आयात निर्यात कुरा, ओसारपार, गुणस्तरका कुरालाई ध्यानमा राखेर यो प्रकारको निर्देशिका आवश्यक पर्छ भनेर २०७३ मै मस्यौदा तयार गरेर सरकारलाई बुझाइसकेका छौं, तर अहिलेसम्म पनि निर्देशिका आउन नसक्दा गुणस्तर र परिमाणमा नाम, राजस्व, सम्पत्तिको नाममा चोरीको सामान खरिद गरेको भनेर व्यवसायीलाई दुःख दिने काम भइरहेको छ । निर्देशिका नभए पनि आमउपभोक्तालाई गुणस्तरयुक्त गहना वितरण गर्नका लागि महासंघले एउटा गाइड लाइन बनाएका छौं ।

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न के–कस्ता कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ ?
वार्षिक रूपमा सरकारलाई १२ देखि १३ अर्ब रुपैयाँ बराबरको राजस्व बुझाउने गर्छौं । आर्थिक वर्ष ०७५÷७६ मा ३४ अर्बको सुन आयात गरेका छौं । आपूर्ति व्यवस्थापन सहज पार्नका लागि अनलाइन व्यापार, प्यान कार्डका विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका छौं । सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्नका लागि सरकारले नीति निर्देशिका ल्याउने काम गरेन भने हामी शान्तिपूर्ण ढंगले विरोधका कार्यक्रम अगाडि बढाउँछौं । आपूर्ति व्यवस्था सहज बनाउनका लागि महासंघले नयाँ अवधारणा ल्याएको छ । सुन वितरण प्रणालीलाई व्यवस्थित गर्नका लागि समानुपातिक ढंगले नभएकाले अहिले राष्ट्र बैंकले वितरण गर्ने २० किलो सुन महासंघको भागमा ११ किलो ५ सय ग्राम सुन सबैलाई व्यवस्थित ढंगले सदस्य संख्या प्यान नम्बरका आधारमा वितरण गर्ने निर्णय गरेका छौं । यसअघि मनपरि ढंगले सुन वितरण गरिँदै आएको थियो । यसलाई व्यवस्थित गर्नका लागि सदस्य संख्या र प्यान नम्बरका आधारमा वितरण गर्न लागेको छ ।
००००००००

ब्रेकर ः

मूल्य बढेसँगै पछिल्लो समय सुनको गहना किन्नेभन्दा पनि बिक्री गर्ने मान्छे धेरै आउने गरेका छन् । त्यस कारणले गर्दा आन्तरिक बजारमा व्यापार ठप्पै अवस्थामा रहेको छ ।

बैंकमा सुन किन होल्ड भएको छ भने हामीले एक महिना पहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमशः बढ्दै जाने देखिएपछि बैंकमा २ सय ५० किलो सुन रहेको अवस्थामा सुन नझिकाउनका लागि नेपाल राष्ट्र बैंक र बैंकर्स एसोसिएनलाई पत्राचार गरिसकेका छौं । हामीले जानकारी गराउँदा–गराउँदै पनि बैंकले सुन आयात गरेपछि अहिले बैंकमा सुन होल्ड भएको अवस्था छ ।

सुनको मूल्य बढ्यो भने कारोबार कम हुन्छ । यही मूल्य कायम रह्यो भने सुनको व्यापार कम हुन्छ । किनकि हामीसँग क्रयशक्ति नै कमजोर छ ।

२०६६ सालदेखि सुनचाँदी व्यवसायमा अनुगमनका कुरा आएपछि २०६९ साल व्यवसाय सञ्चालन गर्नका लागि निर्देशिका ल्याउनुपर्छ भनेर पहल गरिरहेका छौं । निर्देशिका ल्याएपछि निर्देशिकाभित्र रहेर व्यवसाय नगर्ने व्यवसायलाई कारबाही गर्न सकिन्छ ।

सुनको गरगहना लगाइसकेपछि त्यसको निश्चित मात्रामा नोक्सान हुन्छ भन्ने कुरा उपभोक्ताले बुझ्नुपर्छ । सुनको गहना ढिका लगाउने कुरा हुँदैन । गहना बनाउँदाखेरि अलिकति जर्ति लस हुनेगर्छ । कालिगढले गहना बनाउने गर्छ, त्यसको मेकिङ चार्ज लिने गर्छ । गहना बनाउँदा त्यसमा केही नोक्सान हुन्छ ।

आपूर्ति व्यवस्थापन सहज पार्नका लागि अनलाइन व्यापार, प्यान कार्डका विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका छौं । सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्नका लागि सरकारले नीति निर्देशिका ल्याउने काम गरेन भने हामी शान्तिपूर्ण ढंगले विरोधका कार्यक्रम अगाडि बढाउँछौं । कारोवारमा लक्ष्मी सापकोटाले गरेको कुराकानी ।

Share this news: