सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

सबैखाले भुक्तानीलाई विद्युतीय प्रणालीमा जोड्ने लक्ष्य: निलेशमान सिंह प्रधान

अन्तर्वार्ता

nileshman

सबैखाले भुक्तानीलाई विद्युतीय प्रणालीमा जोड्ने लक्ष्य: निलेशमान सिंह प्रधान

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) करिब ८ वर्षअघि विद्युतीय भुक्तानीको व्यवस्था गर्ने र आवश्यक पूर्वाधार तयार गर्ने उद्देश्यले स्थापना भएको हो । राष्ट्रिय भुक्तानी प्रणालीसम्बन्धी नीतिलाई कार्यान्वयन गर्न यसको स्थापना गरिएको हो । यसले राष्ट्रिय भुक्तानी प्रणालीमा चाहिने पूर्वाधार निर्माण गरेर सेवा दिइरहेको छ । हालसम्म यसमा चेक क्लियरिङमा ८० वटा बैंक तथा वित्तीय संस्था जोडिएका छन् । इन्टरबैंक पेमेन्टअन्तर्गत ७६ वटा बैंक तथा वित्तीय संस्था र कनेक्ट आइपिएसमा ५२ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् । एनसिएचएलका सिइओ निलेशमान सिंह प्रधानसँग गरिएको कुराकानी:

क्लियरिङ हाउसको  काम के हो ?
मुख्यतः विद्युतीय भुक्तानीका लागि चाहिने पूर्वाधारको विकास र विस्तार गर्ने हो । हाल कार्ड र क्यासबाहेकका भुक्तानी प्रणालीलाई चाहिने पूर्वाधारमा काम गरिरहेका छौँ । जस्तै, चेक क्लियरिङ । चेकबाट गरिने जति पनि काम छन् त्यसलाई इलेक्ट्रोनिक क्लियरिङका लागि चाहिने पूर्वाधार र प्रक्रिया हामीले उपलब्ध गराउँदै आएका छौँ । अर्को सिस्टम आइपिएस भन्नाले इन्टरबैंक पेमेन्ट सिस्टम हो । यसमा चेक वा कागजी प्रक्रियाविना नै निर्देशनका आधारमा कुनै एक बैंकको खाताबाट अर्को खातामा पैसा ट्रान्सफर गर्ने सुविधा दिइरहेका छौँ । र, पछिल्लो समयमा हामीले कनेक्ट आइपिएस सञ्चालन गरेका छौँ, जसबाट सोझै खाताबाट विभिन्न भुक्तानी तथा फन्ड ट्रान्सफर उपभोक्ता आफैँले गर्न सक्छन् । यसमा उपभोक्ता आफैँले मोबाइल, कम्प्युटरजस्ता ग्याजेटको माध्यमबाट गरिने कारोबारका लागि चाहिने पूर्वाधार उपलब्ध गराएका छौँ ।

 

यसले कसरी काम गर्छ  ?
यसमा चेकसँग सम्बन्धित विषयमा उपभोक्ताले यसभन्दा अगाडि जसरी चेक लिने वा दिने गरिरहेका थिए, त्यही नै गर्ने हो । बैंकमा त्यो चेक पुगिसकेपछि जसरी उसले चेक क्लियरिङ गर्ने हो, त्यसलाई मात्र हामीले अटोमेटेड गरेका हौँ । इन्टरबैंक पेमेन्ट सिस्टममा भने उपभोक्ताले पनि अलिकति बुझ्नुपर्ने हुन्छ । त्यो भनेको चेकविना नै कुनै बैंकलाई आफ्नो इन्स्ट्रक्सनको माध्यमबाट भुक्तानी आदेश दिने हो । भुक्तानी आदेशका आधारमा हुने भएकाले त्यसमा विभिन्न संघसंस्थाले योभन्दा अगाडि गर्दै आएका तलब भुक्तानी, भेन्डरलाई पेमेन्ट, डिभिडेन्ड पेमेन्टजस्ता जति पनि दिनुपर्ने भुक्तानी हुन्छ त्यसमा हरेकका लागि चेक काट्नुको सट्टा आफ्नो बैंक वा वित्तीय संस्थालाई कुनै माध्यमबाट निर्देशन दिँदा यसमा सहजै सम्बन्धितको खातामा आइपिएसमार्फत पेमेन्ट गर्न सकिने भएको छ । यसमा अपरेसन इफिसिएन्सी ल्याउने काम गरेको छ ।

कनेक्ट आइपिएसको हकमा इन्स्टिच्युसनल ग्राहक मात्र नभई कुनै पनि व्यक्तिविशेषको कुनै पनि बैंक तथा वित्तीय संस्थामा खाता रहेछ भने उसले बैंक वा कुनै शाखामा पनि नगई मोबाइल एपबाट, कनेक्ट आइपिएसको पोर्टलबाट वा मोबाइल बैंकिङमा पनि जोडेको रहेछ भने त्यहाँबाट पनि सजिलै फन्ड ट्रान्सफर गर्न सक्छन् । यसलाई हामी बिटुबी ट्रान्जेक्सन भन्छौँ ।

नेपालमा डिजिटल पेमेन्ट प्रयोगकर्ता बढ्दै छन् । डेबिट र एटिएम कार्डको प्रयोग पनि द्रुत गतिमै बढेको छ । मोबाइल बैंकिङ र इन्टर बैंकिङ, वालेटलगायत माध्यम पनि बढेका छन् । आइपिएस र कनेक्ट आइपिएसमा पनि प्रयोगकर्ता बढेको देखिन्छ ।

 

चेक क्लियरेन्सको मात्रा कस्तो छ ?
एनसिएचएलले सुरुवात नै चेक क्लियरेन्सबाट गरेको हुनाले सात वर्षदेखि हामीले यो सेवा दिँदै आएका छौँ । हाम्रो तीनवटा कोर सर्भिसमध्ये मुख्य सर्भिस चेक क्लियरेन्स नै हो । अघिल्लो आवमा दैनिक औसत ४७ हजार चेक क्लियरेन्स भएका थिए । रकममा भन्दा दैनिक करिब ३० अर्ब रुपैयाँको हामीले क्लियर गरेका थियौँ । अघिल्लो एक वर्षमा कुल १ करोड १७ लाख चेक क्लियर गर्यौँ । रकममा ७२ खर्ब रुपैयाँबराबर हामीले क्लियर गरेका हौँ । अब चेकको प्रयोग घटाएर आइपिएस र कनेक्ट आइपिएसमार्फत विद्युतीय हुनेतिर लागेको देखिन्छ ।

एउटा चेक क्लियरेन्सलाई कति समय लाग्छ ?
प्रत्येक दिनमा २ बजेसम्म सिस्टममा आएको चेक त्यही दिन ४ बजेसम्म क्लियर भइसकेको हुन्छ । एकै दिनमा चेक क्लियर हुने मेकानिजमलाई हामी टी प्लस जिरो मेकानिजम भन्छौँ । अन्तर्राष्ट्रियस्तरमा पनि चेक क्लियरेन्समा टी प्लस जिरो गर्ने कमै देश छन् । भारतले नै टी प्लस वान गरिरहेको छ । त्योबाहेक हामीले एक्सप्रेस क्लियरेन्स पनि गर्छौं । जसमा मल्टिपल चेक सेटलमेन्ट हुन्छन् । हामी दुई–दुई घन्टामा सेटल गर्छौँ । सामान्यतया २ बजेसम्म राखिएको चेक त्यही दिनभित्र र एक्सप्रेसमा भए दुई घन्टामै क्लियर हुन्छ । आइपिएसमा पनि दुई घन्टामै सेटलमेन्ट हुने व्यवस्था रहेको छ भने दिउँसो २ बजेको कारोबार सोही दिनमा राफसाफ हुने व्यवस्था रहेको छ । यसका साथै कनेक्ट आइपिएसबाट भने चौबीसै घन्टा कारोबार गर्न सकिन्छ । जुन रियल टाइममा नै हितग्राहीको खातामा भुक्तानी हुने व्यवस्था रहेको छ ।

भुक्तानीमा कस्ता चुनौती छ ?
भुक्तानी प्रणालीहरूमा प्राविधिक पूर्वाधारका काम हुने भएकाले विभिन्न प्राविधिक चुनौती त हुन्छ नै । अन्तर्राष्ट्रिय प्रयोगमा रहेका प्रविधि र प्रक्रिया नै नेपालमा प्रयोग हुनाले त्यसमा भएका चुनौतीहरू अलिकति कम हुन्छ । प्रविधि भनेको एउटा पक्ष हो । नयाँ प्रविधि ल्याएर हामीसँग जोडिएका सबै पक्षलाई वा सेवाग्राहीलाई इकोसिस्टमभित्र ल्याउन जुन पहल हुनुपर्छ, त्यो सबैभन्दा बढी चुनौती हो । किनकि, अहिले पनि सेवाग्राहीलाई सचेत बनाउनै बाँकी छ जस्तो लाग्छ ।

Share this news: