सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

आयात ठप्प भएसँगै दसैंलाई ३० हजार खसीबोका अपुग हुने ब्यवसायीको अनुमान, स्वदेशी उत्पादन पर्याप्त हुने सरकारी दावी

कृषि

Goats#

आयात ठप्प भएसँगै दसैंलाई ३० हजार खसीबोका अपुग हुने ब्यवसायीको अनुमान, स्वदेशी उत्पादन पर्याप्त हुने सरकारी दावी

सुनाखरी न्युज/
काठमाडौं-

नयाँ आर्थिक वर्ष लागेपछि भारतबाट खसीबोका आयात ठप्प भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०७५ साउनमा दसैंलाई लक्षित गरी ३७ करोड २१ हजार रुपैयाँका ४५ हजार ७ सय ९८ खसीबोका आयात भएका थिए । २०७६ भदौ २० गतेसम्म आयात ठप्प छ ।

विभाग स्रोतका अनुसार यस वर्ष भदौ २० गतेसम्म एउटै खसीबोका आयात भएको छैन । ‘नयाँ आर्थिक वर्ष लागेपछि आजको मितिसम्म आयात भएको छैन,’ विभागका एक अधिकारीले भने, ‘खुला सीमाका कारण अवैध आयात भएको हुन सक्छ ।’

व्यवसायीका अनुसार आयातमा कडाई भएपछि नजिकिदै गरेको चाडबाडका लागि करिब ३० हजार खसीबोका अपुग हुने सम्भावना देखिएको छ । ‘प्रहरी, सेना, होटल, घरघरमा गरेर दसैंमा करिब ५० हजारको माग हुन्छ । स्वदेशी उत्पादनबाट करिब २० हजार उपलब्धता हुने आकलन गरेका छौं,’ थापाले भने, ‘बाँकी ३० हजार अपुग हुने देखिन्छ ।’

पशु सेवा विभागले क्वारेन्टाइन ऐन फागुन ३ गतेदेखि कार्यान्वयन गरेको छ । यो व्यवस्थासँगै सम्बन्धित मुलुकबाट पशु चौपाया स्वस्थ भएको प्रमाणित कागजपत्र बनाउनुपर्छ । कागजपत्रमा निर्यातयोग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित हुनुपर्छ । यो व्यवस्थाला कडाइ गरेसँगै खसीबोका आयात कम भएको थियो । नयाँ आर्थिक वर्ष लागेपछि आयात ठप्प छ । व्यवसायीले भन्सार कडाइलेगर्दा तस्करीको बाटोबाट खसीबोका आयात भइरहेको अनुमान गरेका छन् ।

‘खुला सीमाका कारण परीक्षणबिनै दैनिक ६/७ वटा गर्दै सयौं संख्यामा भित्र्याइएको छ,’ काठमाडौं चौपाया खरिद–बिक्री प्रालिका अध्यक्ष जनक खड्काले भने, ‘चोरी तस्करी मौलाउँदै गएको छ । सरकारले कडाइको नामकरण दिए पनि भेटेरिनरी परीक्षणबिनै झन् आयात भइरहेको छ ।’ भारतबाट खसीबोका आयात ठप्प हुँदा जिउँदो खसीको मूल्य ७ सय १५ रुपैयाँ पुगेको थियो ।

‘त्यसपश्चात् तस्करी भएर बजारमा भित्रिन थाल्यो । बजारमा खसीबोका भित्रिएपछि प्रतिकिलो ६ सय ५० रुपैयाँमा झरेको छ,’ चौपाया व्यवसायी संघ कलंकीका पूर्वअध्यक्ष दीपक थापाले भने । उनका अनुसार तस्करीबाट आयातित खसीबोका स्वदेशी भनेर महँगो मूल्यमा समेत बिक्री भएको छ ।

 

व्यवसायीका अनुसार मागको करिब ६० प्रतिशतभन्दा बढी खसीबोका भारतमै निर्भर हुनुपरेको छ । भारतको लखनउ, कर्नाटकलगायत १० स्थानबाट खसीबोका आयात गर्ने गरिएको थियो ‘चाडबाडमा माग बढ्ने हुँदा आपूर्तिको व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई जिम्मा दिएका छौं,’ अध्यक्ष खड्काले भने, ‘पर्याप्त आपूर्ति नभए अभाव हुने देखियो । त्यसले कालोबजारी हुन सक्छ । सरकार सचेत हुन जरुरी छ ।’

व्यवसायीले खसीबोकाको अभाव हुने दाबी गरे पनि पशु सेवा विभागले भने नेपालमै उत्पादन पर्याप्त भएको बताए । पशु सेवा विभागका महानिर्देशक वंशी शर्माका अनुसार उपत्यकामा वार्षिक ६ लाख खसीबोका चाहिन्छ । मुलुकभर १ करोड १८ लाख छ । वार्षिक ३० प्रतिशत अर्थात् ३३ लाख कटनीमा जान्छ ।

 

 

Share this news: