सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

निजी आवास पुनर्निर्माण ८५ प्रतिशत, पुनर्निर्माणमा काठमाडौं, भक्तपुर र ललितपुरमा भन्दा ग्रामीण भेगको प्रगति राम्रो

ट्रेन्डिङ

NRA#

निजी आवास पुनर्निर्माण ८५ प्रतिशत, पुनर्निर्माणमा काठमाडौं, भक्तपुर र ललितपुरमा भन्दा ग्रामीण भेगको प्रगति राम्रो

सुनाखरी न्युज/
काठमाडौं-

निजी आवास पुनर्निर्माण करिब ८५ प्रतिशत सकिएको छ । भूकम्प गएको साढे चार वर्षमा निर्माणमा १ खर्ब ५५ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ खर्च भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लक्ष्य अबको एक वर्षभित्र निजी आवासको निर्माण सक्ने छ ।

‘निजी आवास निर्माण सन्तोषजनक छ,’ प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेले भने, ‘जसमा ५७ प्रतिशतले सम्पन्न गरेका छन् भने २७ प्रतिशतले बनाउँदै छन् ।’ उनका अनुसार निजी आवासमा दोस्रो किस्ता लिने ७८ प्रतिशत र तेस्रो किस्ता लिने ६४ प्रतिशत छन् । समग्र पुनर्निर्माणमा अहिलेसम्म पौने ३ खर्ब खर्च भइसकेको छ । प्राधिकरणका अनुसार निजी आवासतर्फ ७ लाख ७६ हजार २ सय ९१ सँग अनुदान सम्झौता भएको छ । जसअन्तर्गत ६ लाख ५६ हजार ७ सय ५५ घर बन्दै छन् । ४ लाख ४४ हजार ५ सय ९९ हजार घर निर्माण सम्पन्न भइसकेका छन् । १ लाख १९ हजार ५ सय ४१ घर बन्न बाँकी छन् ।

केहीले भने पहिलो किस्ता बुझेर पनि घर बनाएका छैनन् । उनका अनुसार सबैभन्दा बढी प्रगति निजी आवास निर्माणमा देखिएको छ । पछिल्लो समयको प्रगति सन्तोषजनक छ ।

‘तीन तहको निर्वाचन गर्नुपर्‍यो, देश संघीयतामा जाँदा कर्मचारी समायोजनबाट गुज्रनुपर्‍यो, यो बेलामा प्रगति राम्रो भएन,’ उनले भने, ‘अहिले सन्तोषजनक छ ।’ अति प्रभावित १४ र कम प्रभावित १८ जिल्ला छन् । सबै जिल्लामा निर्माणको काम भइरहेको छ । निर्माणमा राम्रो प्रगति ग्रामीण भेगमा देखिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा निजी आवास निर्माण बाह्य जिल्लाको तुलनामा कम छ ।

Share this news: