सुनाखरी न्युज
२०७६ कार्तिक २९ , शुक्रवार

चिनियाँ राष्ट्रपतिको दुई दिने नेपाल भ्रमणः अन्तर्राष्ट्रिय उडान दुई दिन प्रभावित हुने, विमानस्थल चैविसै घण्टा खुल्ला

सुरक्षा–अपराध

ac

चिनियाँ राष्ट्रपतिको दुई दिने नेपाल भ्रमणः अन्तर्राष्ट्रिय उडान दुई दिन प्रभावित हुने, विमानस्थल चैविसै घण्टा खुल्ला

सुनाखरी न्युज/

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चीनफिङको भीभीआईपी उडानका कारण कम्तीमा दुई दिन शनिबार र आइतबार दर्जनौं अन्तर्राष्ट्रिय उडान घण्टौं डिले हुने भएका छन ।
उनी सवार भीभीआईपी जेट विमान आउने बेला दुई घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुने छैनन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौं आइपुग्ने छन ।

 

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले शनिबार र आइतबार हुने उडानबारे शुक्रबार बिहान नोटाम (नोटिस टू एयरमेन) जारी हुने बताए । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो । विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भीभीआईपीको जहाज आउने र जाने समयअघि वा पछि सार्नुपर्छ । अन्तर्राष्ट्रिय वायुसेवाका एयरपोर्ट स्टेसन म्यानेजरहरूको संस्था एयरलाइन्स अपरेटर्स कमिटी नेपालका एक पदाधिकारीकाले भने, ‘नोटामले नउड्न भनेको समयमा पर्ने उडानलाई अघि वा पछाडि सार्ने छौं ।’ उनले उक्त समयमा प्रभावित हुने उडानका यात्रुहरूलाई टेलिफोन, एसएमएस वा इमेलबाट समय सारिएको जानकारी गराइने बताए । काठमाडौं विमानस्थलले बिहीबार बेलुकीसम्म नोटाम जारी गरी सक्नुपर्ने थियो तर अबेरसम्म कुनै निर्णय नभएको महाप्रबन्धक केसीले बताए ।

चिनियाँ राष्ट्रपति सी दुइटा जेट विमान बोइङ ७४७–८ मा काठमाडौं आउन लागेको जानकारी नागरिक उड्डयन प्राधिकरणले दिएको छ । शनिबार आइपुग्ने ती दुई विमान आइतबारमात्रै चीन फर्कने छन् । काठमाडौं विमानस्थलमा एक पटकमा नौवटा मात्रै जेट विमान एप्रोनको पार्किङमा राख्न सकिन्छ । चिनियाँ राष्ट्रपतिका दुइटा जेट विमानले ६ वटा जहाजको पार्किङ क्षेत्र ओगट्ने भएपछि दुई दिनमा दर्जनौं अन्तर्राष्ट्रिय उडानको तालिका धकेलिने भएको हो ।

विमानस्थलमा भएका नौवटा पार्किङवेमध्ये ४ देखि नौ नम्बरसम्मका ६ वटा पार्किङवेमा चिनियाँ राष्ट्रपतिका दुइटा जेट राखिने छन् । काठमाडौंमा दैनिक ८० हाराहारी विदेशी उडान  हुन्छन् भने आन्तरिक २ सय ८० हाराहारी उडान हुने गरेका छन् । प्राधिकरणले राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपतिले ल्याउने विमान चारवटा इन्जिनयुक्त दुईतले (डबल डेकर) भएको बताएको छ । ती विमान यसअघि कहिल्यै काठमाडौंमा आएका थिएनन् ।

 

 

राष्ट्रपति सी एयर चाइनाको जहाजमा काठमाडौं आउँदै छन् । ३ सय टनभन्दा बढी तौल भएकाले यी विमानलाई टर्मिनल भवनतर्फ नफर्काई उत्तर–दक्षिणतर्फ पार्किङ गरिने छन् । यसो गर्नुको कारण काठमाडौं विमानस्थलमा यी विमानलाई धकेल्ने ९पुसब्याक० उपकरण नहुनु हो । ‘हामीसँग २ सय ५० टनसम्मको जहाज धकेल्ने उपकरणमात्रै छ । त्यसैले धावनमार्गतर्फ जान सजिलो हुने गरी उत्तर–दक्षिण पर्किङ गर्न लागिएको हो,’ विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ गर्ने नेपाल वायुसेवा निगमका एक अधिकारीले भने ।

चिनियाँ राष्ट्रपतिको उडानका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएपछि विमानस्थल व्यवस्थापनले शनिबार र आइतबार दुई दिन चौबिसै घण्टा विमानस्थल खुला राख्ने निर्णय गरेको छ ।

Share this news: