सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

अर्थमन्त्रीमा खतिवडाकै निरन्तरताले शेयर बजारमा संकुचन

शेयर

Share#

अर्थमन्त्रीमा खतिवडाकै निरन्तरताले शेयर बजारमा संकुचन

सुनाखरी न्युज/

काठमाडौं –

मन्त्रिमण्डल पुनर्गठनमा अर्थमन्त्रीमा युवराज खतिवडालाई नै यथावत् राखिएको छ । अर्थमन्त्रीमा युवराज खतिवडालाई नै निरन्तरता दिएपछि सेयर बजारमा निराशा छाएको छ । सेयर बजारले नरुचाएका खतिवडालाई प्रधानमन्त्री भने मन पराएको देखिएको छ । विगतमा पटकपटक सेयर बजार विरोधी अभिव्यक्ति दिएका कारण अर्थमन्त्री खतिवडासँग सेयर बजारका लगानीकर्ता रुष्ट छन् ।

खतिवडा अर्थमन्त्रीबाट हट्ने हल्ला चल्दा सेयर बजारमा पनि चमक आएको थियो । तर बुधबार साँझ गरिएको मन्त्रिमण्डल पुनर्गठनमा खतिवडा अर्थमन्त्रीमा यथावत् छन् । यसको नकारात्मक प्रतिक्रिया बिहीबारको सेयर बजारले दिएको छ । कारोबार रकम सुस्त हुँदा नेप्से सूचक पनि तल झरेको छ ।खतिवडाप्रति लगानीकर्ता आश्वस्त हुन सकेका छैनन् ।

ठूला लगानीकर्ता नजागेसम्म बजारले अपेक्षा अनुसार गति लिन सक्दैन । साना र नयाँ लगानीकर्ता ठूला र पुरानाकै पछि लाग्ने हुन् । सेयर बजार लामो समयदेखि वियरिस प्रवृत्तिमा छ । बजार निरन्तर ओरालो लाग्दा पनि सरकारले लगानीकर्ताको आत्मबल सुधार्ने कार्यक्रम ल्याउन सकेको छैन । जसका कारण बजार माथि जान सकेको छैन ।

यतिबेला आम लगानीकर्ताको मनोविज्ञान सेयर बजारप्रति नकारात्मक छ । बजार सुधारका लागि वर्तमान अर्थमन्त्रीले गतिला कार्यक्रम अघि सार्छन् भन्नेमा लगानीकर्ता विश्वस्त छैनन् । सेयर बजारका आधारभूत पक्ष ठीकै रहँदा पनि लगानीकर्ता उत्साहित नभएकाले बजारमा निराशा छ । विशेषगरी ठूला र संस्थागत लगानीकर्ता यतिबेला सक्रिय देखिएका छैनन् ।

यस वर्ष अधिकांश कम्पनीले लाभांश घोषणा गरेका छन् । प्रथम त्रैमासमा पनि नाफा बढेको छ । लाभांश अनुपात पनि वृद्धि भएको छ । यति हुँदा पनि बजारले गति लिन सकेको छैन । यसको प्रमुख कारण सरकारको नीति तथा कार्यक्रमलाई लगानीकर्ताले विश्वास नगर्नु नै हो ।

Share this news: