सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

नेप्सेमा निरन्तर गिरावट, एकैसातामा लगानीकर्ताले गुमाए १० अर्ब बढी रुपैयाँ !

शेयर

Nepse#

नेप्सेमा निरन्तर गिरावट, एकैसातामा लगानीकर्ताले गुमाए १० अर्ब बढी रुपैयाँ !

सुनाखरी न्युज/
काठमाडौं-
साताभर धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक बढ्न सकेन ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार साताभर परिसूचक ७.८३ अंकले घटेको छ । यससाता ११२०.६२ अंकबाट सुरु भएको नेप्से घटेर १११२.७९ अंकमा पुगेको हो । आइतबार नै घटेको नेप्सेले बुधबार सामान्य अंकले सुधारिएर लगानीकर्तामाझ अपेक्षा सिर्जना गरे पनि साताको समग्र अवस्था सकारात्मक बन्न सकेन ।
बुधबारको सुधार आइतबारको गिरावटभन्दा पनि कम अंकको रहेको थियो ।

नेप्से आइतबार १०.५३ अंकले घटेको थियो भने बुधबार ८.२९ अंकले सुधारिएको थियो । यसअघि सोमबार स्थिर रहेको थियो । अन्य दिन बजारमा झिनो गिरावट आत्मसात भए ।

पछिल्लो समय सेयर कारोबार निकै कम छ । घटिरहेको बजारमा लगानीकर्ताको इच्छा पनि देखिँदैन । जसका कारण बजारमा औसत २६ करोड रुपैयाँको कारोबार हुने गरेको छ । यो परिमाण हालसम्मको औसतभन्दा आधा हो ।

सेयर कारोबार अनलाइन भएर बैंकहरु इन्टिग्रेटेड हुँदा पनि नेप्से बढेको छैन । नेप्सेमा सूचीकृत संस्थाले राम्रो प्रतिफल दिइरहँदा पनि लगानीकर्तामा किनबेचको चासो देखिएको छैन ।

लगानीकर्ताहरु अर्थमन्त्री डा. युवराज खतिवडा पदमा यथावत् रहे सेयर बजार यसरी नै बढ्न नसक्ने बताइरहेका छन् ।

निरन्तर घट्ने क्रममा रहेको सेयर बजारमा कुल १ अर्ब ३२ करोड रुपैयाँको मात्र सेयर किनबेच भए । साताभर १ सय ८१ कम्पनीका ५१ लाख ५१ हजार कित्ता सेयर खरिद बिक्री भए । यसक्रममा २२ हजार कारोबार भए ।

नेप्से परिसूचक ०।७ प्रतिशतले घट्दा यससाता लगानीकर्ताको सम्पत्ति पनि निकै घटेको छ । साताभरमा सेयर बजारको पुँजीकरण १० अर्ब रुपैयाँले घटेर १४ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँमा कायम भएको छ । नेप्से घट्दा सेन्सिटिभ इन्डेक्स पनि ०.२३ अंकले घटेर २४६.६६ अंकमा कायम भएको छ ।

 

Share this news: