सुनाखरी न्युज
२०७६ मंसिर २९ , आइतवार

म कुन परिचय दिउँ ?

ट्रेन्डिङ

Diyes

म कुन परिचय दिउँ ?

दियेश रत्न शाक्य-

संगै बसेर पनि
तिमीले मेरो परिचय
बिर्से जस्तो छ
अथवा
तिमीले मसंग नयाँ परिचय
खोजे जस्तो छ

“बहादुर,कान्छा ,गोर्खा”
यी सब तिमीले सम्झिने नाम मात्र हुन्
मेरो परिचय किमार्थ होइन
तिमीले हिमाललाई हेरेर
मलाई चिसो मान्छे
ठोकुवा गर्‍यौ भने त्यो गल्ती हुनेछ
तिमीले यताको नदीलाई छामेर
मलाई उस्तै चिसो ठान्यौ भने
त्यो गल्ती हुनेछ
किनभने म त पुर्खौदेखि
रगत उम्लिएको मान्छे हूँ
रगतभित्र आगो दौडिरहेको मान्छे हूँ
हो उहीँ आगो जसले
मायामा सेकाउँछ,
भोकमा पकाउँछ
बिरोधमा जलाउँछ

यो आगोमा धर्म जोड्यो भने –
आरती बन्छ पशुपतिनाथ,मुक्तिनाथ
वा जानकी मन्दिरमा जस्तै-
शान्तिदीप बन्छ लुम्बिनीमा जस्तै
यो आगोबाट धर्म खोस्यो भने-
डढेलो बन्छ,मात्र डढेलो
र यो पनि बुझे हुन्छ
आगो कहिले सानो हुँदैन
झिल्को,अगुल्टो वा मुस्लो
मसाल,फिलिङ्गो वा दियो

अहिलेलाई
मात्र यत्ति सोध्न चाहन्छु
तिम्रो ब्यवहारको प्रत्युत्तरमा
म आफूभित्रको
कुन आगोको परिचय दिउँ?

Share this news: