२०८१ पुष ८ , सोमवार

हिमपातका कारण सुकेटार विमानस्थलमा उडान अवरुद्ध

सुनाखरी न्युज/ ताप्लेजुङ – ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ ।

 

विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै निरन्तर उडान अवरुद्ध भएको हो । यसअघि गएको शुक्रबारको उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । आज मौसम नखुलेका कारण उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बूले बताए । लिम्बूका अनुसार गएको शुक्रबार विमानस्थलमा भारी हिउँ थुप्रिएपछि उडान अवरुद्ध बनेको थियो ।

 

आजको उडान अवरुद्ध बनेपछि काठमाडौँका लागि टिकट बुकिङ गरेका १४ यात्रु रोकिएका छन् । काठमाडौँदेखि ताप्लेजुङ आउन लागेका १२ यात्रु पनि उतै रोकिएका स्टेशन इन्चार्ज लिम्बूले बताए । सुकेटारमा हिमपातसँगै प्रतिकूल मौसमका कारण सुकेटार विमानस्थलमा पटकपटक उडान अवरुद्ध हुँदै आएको नेपाल वायुसेवा निगमले जनाएको छ । निगमले सुकेटार विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन उडान सञ्चालन गर्दै आएको छ । रासस