२०८१ आश्विन ५ , शनिवार

स्थानीय निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित

सुनाखरी न्युज/ काठमाडौं – आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ ।

 

निर्वाचन आचारसंहिता अनुसार देशभर मतदाता नामावली संकलन गर्ने कार्यालयहरुलाई आजदेखि मतदाता नामावली संकलन रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिनुभयो । आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।

 

कानुनी व्यवस्था अनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोही अनुसार आयोगले उक्त कार्य रोकेको हो । निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो । हालसम्म देशभर १ करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ ।