२०८१ आश्विन ५ , शनिवार

प्रतिक्रियावादीहरूले घेरा हालेर सखाप पार्न खोजिरहेका छन् : प्रचण्ड

सुनाखरी न्युज/ काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूले घेरा हालेर माओवादीलाई सखाप पार्न खोजिरहेको बताएका छन् ।

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले माओवादीलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेको बताएका हुन् । ‘माओवादीलाई देशभित्रका र देश बाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहका छन्,’ उनले भने, ‘हामी यति ठूलो परिवर्तनका वाहकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’

 

ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरू एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताउँदै अध्यक्ष प्रचण्डले माओवादी शक्तिहरू एकजुट हुन आवश्यक भएको उल्लेख गरे । उनले भने, ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं । हामीलाई कसैले परास्त गर्न सक्दैन ।’