२०८१ असार २३ , शनिवार

उच्चस्तरीय समितिको कार्यसम्पादन प्रभावित गर्ने किसिमका गतिविधि नगर्न नगराउन ध्यानाकर्षण

सुनाखरी न्युज/ काठमाडौं – गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिका सम्बन्धमा देखा परेका असन्तुष्टि र उठेका सवालमाथि छानबिनसहित सत्य तथ्य पत्ता लगाई समस्या सम्बोधन गर्न संघको ८१औं आइसीसीको बैठकद्वारा एक उच्चस्तरीय समिति गठन गरिएको छ ।

 

सोही समिति मातहतको ३ सदस्यीय स्वतन्त्र उपसमितिले समस्या समाधानका लागि सुझाएका सुझाव सहितको अध्ययन प्रतिवेदन मिति ४ फेब्रुवरी २०२२ मा उच्चस्तरीय समितिमा पठाएको थियो । तर, सो प्रतिवेदनमाथि उच्चस्तरीय समितिमा छलफल हुनुपूर्व नै विभिन्न अनलाइन सञ्चार माध्यममार्फत बाहिरिएको पाइएको छ । यति संवेदनशील विषय छलफल पूर्व नै बाहिरिएको र त्यसमाथि अनावश्यक टीकाटिप्पणी भइरहेको प्रति यस उच्चस्तरीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता किसिमका प्रवृत्तिले संघको गोपनीयता र विश्वसनियतामाथि नै गम्भीर प्रश्न उठ्नुका साथै यस उच्चस्तरीय समितिको कार्यसम्पादनमा समेत प्रतिकुल असर परेको छ ।

अतः अब उपरान्त संघको गोपनियता भंग हुने गरी वा उच्चस्तरीय समितिको कार्यसम्पादन प्रभावित गर्ने गरी कुनै पनि किसिमका गतिविधि नगर्न ÷ नगराउन सम्बन्धित सबैमा आग्रह गर्दछौं । साथै, यस्ता किसिमका गलत मनसाय प्रेरित गतिविधिमा संलग्न नभई निष्पक्ष र पारदर्शी रुपमा समस्या समाधान गर्न आ–आफ्नो स्थानबाट यस उच्चस्तरीय समितिलाई सहयोग गरिदिनु हुन समेत अपिल गरेको छ ।