२०८१ मंसिर १० , सोमवार

क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न नहुन पुनः राष्ट्र बैंकको आह्वान

सुनाखरी न्युज/ काठमाडौं – नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्किङ व्यवसायमा उच्च जोखिम भएकाले लगानी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

 

केन्द्रीय बैंकले सूचना जारी गर्दै क्रिप्टोकरेन्सी र पिरामिड शैलीको नेटवर्किङमा आबद्ध हुँदा लगानी डुब्न सक्ने र कानुनी झन्झटसमेत आउन सक्ने भन्दै यसमा नलाग्न सर्वसाधारणलाई आग्रह गरेको हो । पछिल्लो दशकमा विश्वव्यापी रुपमा क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार बढ्दै गएपछि स्वदेश तथा विदेशमा रहेका नेपालीहरु पनि यसको कारोबार वा यससँग सम्बन्धित लगानीमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको केन्द्रीय बैंकले जनाएको छ । छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्किङ व्यवसायमा आबद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम भएको केन्द्रीय बैंकले जनाएको छ ।

 

 

क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेषगरी ठगी तथा कर छलीलगायतका कार्य हुन सक्ने उल्लेख गर्दै केन्द्रीय बैंकले एउटा निजी फर्मको अनुसन्धानले सन् २०२० मा आपराधिक बिटक्वाइन ठेगनाबाट मात्र ३ अर्ब ५० करोड डलर पठाएको पाइएकाले नेटवर्किङ मार्केटिङको व्यवसाय पनि अवैधानिक आर्थिक क्रियाकलाप भएकाले राजस्वमा नकारात्मक असर पर्ने उल्लेख गरेको छ ।नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको मुद्रा वा विदेशी मुद्रा वा विदेशी विनिमयको मान्यता नदिइएकोले यसलाई भुक्तानी गर्न, सटही गर्न वा मौद्रिक उपकरणको रुपमा प्रयोग गर्न बन्देज लगाइएको राष्ट्र बैंकले जनाएको छ ।

 

 

नेपालमा कानुनी अभावका कारण हालसम्म क्रिप्टोलाई डिजिटल सम्पत्तिको रुपमा मान्यता दिइएको छैन । कुनै प्रयोगकर्ता वा कारोबारसँग सम्बन्धित समस्या वा विवाद भएमा लगानीकर्तासँग खास नियामकीय वा कानुनी उपचार नरहने देखिएको छ । अन्य व्यक्तिमार्फत लगानी गरेको खण्डमा रकम फिर्ता नभई ठगिने र आफ्नो लगानी डुबेर क्षतिपूर्ति नपाइने अवस्था आउन सक्नेतर्फ केन्द्रीय बैंकले सचेत गराएको छ ।

 

बैंक खाता, इलेक्ट्रोनिक कार्ड वा भुक्तानी सेवा प्रदायकको ई–वालेट, मोबाइल एप तथा इन्टरनेटमार्फत भुक्तानी गरी त्यस्तो डिजिटल सम्पत्ति खरिद गर्ने कार्यसमेत गैरकानुनी रहेको जानकारी केन्द्रीय बैंकले दिएको छ । नेपालमा कानुनी अभावका कारण हालसम्म क्रिप्टोकरेन्सीलाई डिजिटल सम्पत्तिको रूपमा मान्यता दिइएको छैन । कुनै प्रयोगकर्ता वा कारोबारसँग सम्बन्धित समस्या वा विवाद भएमा लगानीकर्तासँग खास नियामकीय वा कानुनी उपचार नरहेको केन्द्रीय बैंकले जानकारी गराएको छ ।

 

 

विदेशमा बसोबास गर्ने नेपालीलाई समेत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ आकर्षित हुने भएकाले विदेशमा लगानी गर्नका लागि नेपालबाट पुँजी रकम लैजान वा नेपालमा बस्ने आफन्त तथा साथीभाइबाट पैसा मागी उनीहरूलाई विदेशमा लगानी गर्न सहजीकरण गर्ने कार्य गैरकानुनी तथा दण्डनीय रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ क्रिप्टोकरेन्स तथा नेटवर्किङ मार्केटिङ सम्बन्धमा राष्ट्र बैंकले प्रकाशित गरेको जनचेतनामूलक तथा वित्तीय साक्षरतासम्बन्धी सामग्री ।