२०८१ आश्विन ५ , शनिवार

स्थानीय तहको निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन

सुनाखरी न्युज/ काठमाडौं – गृह मन्त्रालयले आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षा रणनीति, व्यवस्थापन र तयारीका लागि गृहकार्य सुरु गरेको छ।

 

निर्वाचन सुरक्षा व्यवस्थापनमा राज्यका चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन गरिने भएको छ। विगत १० वर्षयता प्रहरी र सशस्त्र प्रहरीबाट अवकाश प्राप्त पूर्वसुरक्षाकर्मी लाई ‘म्यादी’ मा भर्ना गर्ने तयारी छ। गृह मन्त्रालयअन्तर्गत सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं सहसचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले निर्वाचन सुरक्षा व्यवस्था, त्यसका लागि आवश्यक तयारी, सुरक्षा जनशक्ति, परिचालन, मतदान केन्द्र र सुरक्षा अवस्थाका विषयमा गृहकार्य सुरु गरेको हो। वैशाख ३० गतेलाई निर्धारित स्थानीय तहको निर्वाचन सुरक्षा, तयारी, बन्दोबस्ती र परिचालन लगायतका विषयमा गृहकार्य तथा छलफल सुरु भएको सहसचिव निरौलाले बताउनुभयो।

 

मतदान स्थल, मतदान केन्द्र र उपमतदान केन्द्रको विवरण सङ्कलन तथा सङ्ख्याका सम्बन्धमा निर्वाचन आयोगसँग छलफल भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट १० वर्षको अवधिमा अवकाश लिएका पूर्वकर्मचारीको विवरण सङ्कलन गर्न सम्बद्ध निकायलाई निर्देशन दिइएको छ। सो सङ्ख्यापछि युवालाई म्यादी सुरक्षाकर्मीका रूपमा भर्ना लिइने छ। मुलुकका ७७ वटै जिल्लाको सुरक्षा अवस्थाका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखलाई राय सुझावका लागि सिफारिस गर्नसमेत पत्राचार गरिएको छ।