सुनाखरी न्युज/ काठमाडौं – नेपाली राजदूतावास, मलेसियाबाट पनि विद्युतीय राहदानी वितरण सुरु भएको छ । मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आबद्ध भएको परिप्रेक्ष्यमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरुवात गरिएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आएर लामो समयदेखि कामदारको रूपमा कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न पुगेका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको सुरुआत गरिएको छ । राहदानी विभागबाट उनको राहदानी प्रिन्टसमेत गरेर सफलतासाथ परीक्षण गरिएको छ । दूतावासले पहिलो दिनमै ३३ जनाको राहदानी नवीकरणका लागि लाइभ इन्रोल्मेण्ट गरेका छन् । राजदूतावासले सुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात् नियमित रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
विद्युतीय राहदानी सुरुवात कार्यक्रममा नेपालबाट भर्चुअल माध्यमबाट भाग लिएका राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले अब मलेसियाबाट विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रबाचक राहदानी जारी नहुने बताउनुभयो ।