२०८१ पुष ७ , आइतवार

चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

सुनाखरी न्युज/ काठमाडौं – आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३:४५ बजेदेखि सुरु हुनेछ । नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ । नेपालले ओमानसँग टी–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो । ओमानले नेपाललाई छ विकेटले पराजित गरेको थियो ।

उक्त सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ । आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । त्यसमा समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । रासस