२०८१ मंसिर ९ , आइतवार

बढाइएको दुधको मूल्य प्रती उपभोक्ता मञ्चको आपती

सुनाखरी न्युज/ काठमाडौं – सरकारले कच्चा दुधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँ बढाएपछि राष्ट्रिय उपभोक्ता मञ्चले विरोध गरेको छ ।

 

मन्त्रीपरिषद् बैठकले किसानले पाउने दुधको मूल्य बढाएर प्रतिलिटर ५६.०४ रुपैयाँ पुयाएपछि मञ्चले विरोध गरेको हो । मञ्चले भनेको छ, ‘किसानले बिक्रि गर्ने दूधको मूल्य बढाएको भनिएपनि पुरानै समर्थन मूल्य नपाएको स्थिती छ । यो निर्णयले किसान र उपभोक्ता दुवैलाई झुक्याइएको छ ।’ सरकारको उक्त निर्णयपछि उपभोक्ता मूल्य ९ रुपैयाँले बढेको र सो निर्णयबाट उपभोक्ताले मार खेप्नुपर्ने जनाएको छ । दुग्ध विकास संस्थानले बढाएको उपभोक्ता मूल्य वदनियतपूर्ण र गैह्रजिम्मेवारपूर्ण रहेकाले तत्काल सच्याउन मञ्चले माग गरेको छ ।

 

‘सरकारले बढाएको मूल्यले नपुगेर डेरी उद्योग संघ र डेरी एसोसिएशनले उपभोक्ता मूल्यमा थप १ रपैयाँ बढाएका छन्,’मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने । यो विषयलाई सरकारले गम्भीरताका साथ लिएर स्थापित नियम कानून तथा उपभोक्ता हित विपरित काम गर्ने उद्योगी व्यवसायी माथि कानूनी कारबाही गर्न महर्जनले माग गरेका छन् ।