२०८१ आश्विन १२ , शनिवार

आजदेखि दैनिक एकपटक रेल सञ्चालन

सुनाखरी न्युज/ काठमाडौं – लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ ।

 

रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । नेपाल सरकारले बोगिसहितका दुई रेल खरिद गरेको झन्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । आजदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । उनले भने, ‘आजदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था–जयनगरसम्म रेल ओहोरदोहोर गर्नेछ, तर तत्काल यात्रु बिनाको ड्राई रन मात्र हुन्छ ।’

 

उनले केही दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्ने जनाए । रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले जानकारी दिए । रासस