२०८१ मंसिर ६ , बिहिवार

वीरगञ्ज नाकाबाट ६५ अर्बको इन्धन आयात

सुनाखरी न्युज/ काठमाडौं – देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पदार्थको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ ।

 

गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा रु ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६९० लिटर इन्धन बढी आयात भएको हो । पेट्रोलियम पदार्थ अन्तर्गत डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत पर्दछन् । आर्थिक वर्ष २०७७/८७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु ३१ अर्ब ८९ करोड २१ लाख मूल्यको सात लाख ८३५ लिटर इन्धन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा रु ६५ अर्ब ३७ करोड ५१ लाख मूल्य बराबरको १७ लाख आठ हजार ५२५ लिटर डिजल पेट्रोल, मट्टितेल तथा हवाई इन्धन आयात भएको छ । यो समीक्षा अवधिको तुलनामा १०५ प्रतिशत बढी मूल्यको १४४ प्रतिशत इन्धन आयात भएको हो ।

 

कोरोना सङ्क्रमणका कारण गतवर्ष उद्योग व्यापार, यातायात, विकास निर्माण कार्य प्रभावित भएका कारण इन्धनको आयातमा कमी आएको थियो । चालू आवको पहिलो ६ महिनामा कोरोनाको प्रभाव खासै यी क्षेत्रमा नदेखिएका आयात वृद्धि भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले गत आवको पहिलो छ महिनाको तुलनामा चालू आवको सोही अवधिमा डिजेल २२ प्रतिशत, पेट्रोल २५ प्रतिशत, हवाई इन्धन तीन हजार २८८ प्रतिशत, खाना पकाउने ग्याँस १५ प्रतिशत बढी बताए । गत आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाकाबाट रु २३ अर्ब १० करोड ३४ लाखको पाँच लाख चार हजार ४१७ केल डिजल, रु सात अर्ब ४८ करोड २१ लाखको एक लाख ६४ हजार १६६ केल पेट्रोल, रु एक अर्ब पाँच करोड ९८ लाखको २६ हजार ११२ केल हवाई इन्धन र रु २४ करोड ६६ लाखको छ हजार १४० केल मट्टितेल आयात भएको थियो ।

 

चालू आवको सोही अवधिमा रु ४४ अर्ब ४१ करोड ८१ लाखको छ लाख १४ हजार ३४८ केल डिजल, रु १६ अर्ब १२ करोड नौ लाखको दुई लाख पाँच हजार २५२ केल पेट्रोल, रु चार अर्ब ४३ करोड २३ लाखको आठ लाख ८४ हजार ७६४ केल हवाई इन्धन र रु ३४ करोड ३७ लाखको चार हजार १६० केल मट्टितेल आयात भएको सूचना अधिकारी गुप्ताले जानकारी दिए ।उनले गत वर्ष इन्धन आयातबाट रु २४ अर्ब ९७ करोड ७८ लाख राजस्व सङ्कलन भएको थियो भने चालू आवको ६ महिनामा रु ३३ अर्ब ४९ करोड ७६ लाख सङ्कलन भएको बताए । त्यसै यहाँको नाका प्रयोग गरी खाना पकाउने एलपी ग्यासको आयात १५ प्रतिशत बढी भएको छ । गत आर्थिक वर्षको पहिलो छ महिनामा रु सात अर्ब ४९ करोड ४८ लाख मूल्यको एक लाख १९ हजार ७०० मेट्रिक टन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा रु १५ अर्ब २५ करोड ६३ लाखको एक लाख ३७ हजार ३७३ मेट्रिकटन ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ । रासस