२०८१ पुष ७ , आइतवार

चीनमा विश्वकै सबैभन्दा गहिरो स्टेसन हुँदै चल्नेछ पहिलो ‘अटोमेटिक हाइ–स्पिड’ रेल

सुनाखरी न्युज/ काठमाडौं – बेइजिङ ओलम्पिक्स सुरु भएसँगै दुनियाँको पहिलो सेल्फ–ड्राइभिङ हाइ–स्पिड रेल पनि सञ्चालनमा आएको छ । यसले खेलाडीहरुलाई ओलम्पिक आयोजना गरिएका दुई प्रमुख शहरबीचको यात्रा गराउनेछ ।

 

तर ‘बेइजिङ–जाङजिआको इन्टरसिटी रेलवे’ लाई ‘ऐतिहासिक’ ठहर गर्नुको अर्को कारण पनि छ ।यो ५६ मिनेट रेल चढ्दा यात्रुहरुले ‘बदलिङ ग्रेट वाल स्टेसन’ हुँदै यात्रा गर्नुपर्ने हुन्छ । यसलाई इन्जिनियरिङ क्षेत्रकै उल्लेखनीय उपलब्धी बताइन्छ । २०१९ मा निर्माण सम्पन्न भएको सो स्टेसन ‘ग्रेट वाल’ प्रवेश गर्ने चट्टावनयुक्त द्वार हो । त्यसैले शताब्दीऔँ पुरानो त्यो पर्खालको संरचनामा कुनै क्षति नपुगोस् भनेर रेलवे लाइनलाई जमिन मुनि एकदमै गहिराइमा निर्माण गरिएको थियो । यो स्टेसन जमिन भन्दा १०२ मिटर तल छ र यसको क्षेत्रफल ३६ हजार बर्ग मिटर रहेको छ । १०२ मिटर भनेको झन्डै तीन तलाको घर जत्रो संरचना हो । यसकारण पनि यसलाई विश्वकै सबैभन्दा गहिराइमा बनाइएको सबैभन्दा ठूलो भूमिगत हाइ–स्पिड रेलवे स्टेसन भनिएको छ ।

 

युनेस्कोको विश्व सम्पदाको सूचीमा रहेको संरचनाको मुनि यसरी १२ किलोमिटर लामो सुरुङ निर्माण गर्नु अत्यन्तै जटिल काम थियो । यसका लागि हरेकपटक विस्फोटन या तोडफोड गर्दा अत्यन्तै सटिक ढङ्गमा सावधानीपूर्वक हिसाब गरेर काम गरिएको थियो । यो स्टेसन निर्माण हुन तीन वर्ष लागेको थियो । यसले ग्रेट वालबाट राजधानी बेइजिङसम्मको यात्रालाई १.५ घण्टाबाट छोट्याएर २७ मिनेटको बनाइदिएको छ । ग्रेटवालको नजिक कुनै ओलम्पिक समारोह नहुने भएपनि टर्च रिलेमा चाहिँ देखा पर्ने बताइएको छ । यता बेइजिङ–जाङजिआको रेलवेले पनि चीन सरकारद्वारा सञ्चालित नयाँ विद्युतीय हाइ–स्पिड रेल हो । जनवरीमा मात्र सार्वजानिक गरिएको यो रेल ३५० किलोमिटर प्रति घण्टाको रफ्तारमा कुद्न सक्छ ।

 

यसले ओलम्पिक खेल हुने दुई शहरबीचको तीन घण्टाको दुरीलाई कटौति गरि ५६ मिनेटमा झारेको छ । यो अटोमेटिक रेल भएपनि चालक त्यहाँ हरसमय उपस्थित रहने बताइएको छ । यो रेल अटोमेटिक चल्न, रोकिन र स्टेसनहरुको बीचमा गति नियन्त्रण गर्न समेत सक्षम छ । त्यस्तै यसमा फाइभ–जी सिग्नल पनि जडान गरिएको छ भने अत्याधुनिक लाइटिङ, र सेन्सरहरुले प्रत्यक्ष डाटा संकलन गरि रेल सञ्चालनका समयमा देखा पर्न सक्ने समस्याको पहिचान गर्नेछ । त्यस्तै खेलाडीहरुलाई ध्यानमा राख्दै यसमा विन्टर खेलका विभिन्न सामान र ठुल्ठुला उपकरणहरु अटाउनलाई पनि पर्याप्त खालि ठाउँ राखिएको छ । क्याबिनहरुमा यसकै लागि भनेर विशेष स्टोरेज निर्माण गरिएको छ । सीएनएन