२०८१ मंसिर ७ , शुक्रवार

यात्रा गर्दा बान्ता आउने समस्या छ ? यी कुरामा ध्यान दिनुहोस्

सुनाखरी न्युज/ काठमाडौं –

यात्रा गर्दा बान्ता हुने वा वाकवाकी लाग्ने समस्या धेरैलाई हुन्छ । विशेषगरी बस, कार, गाडी, माइक्रोमा यात्रा गर्दा यो समस्या बढी हुने गरेको छ । बिहानको समयमा यात्रा गरेको वा घुमाउरो बाटोमा यात्रा गरेको छ भने यो समस्या बढी देखिने गर्छ । यात्रा गर्नुअघि केही सावधानी अपनाउन सकियो भने यो समस्याबाट मुक्त हुन सकिन्छ ।

 

यी कुराहरूमा ध्यान दिनुहोस्
यात्रामा निस्कने भनेपछि उत्साहित भएर रातभरि नसुत्ने बानी धेरैको हुन सक्छ । राम्ररी निद्रा नपर्दा ग्यास्ट्रिक हुन सक्छ र बान्ता हुने सम्भावना पनि बढ्न सक्छ । त्यसैले, यात्रामा जानुभन्दा अघिल्लो दिन टाइममा सुत्नुपर्छ । यात्रा गर्नुभन्दा अघिल्लो दिन ढिलो खाना खाएमा वा धेरै चिल्लो, पिरो अमिलो खाइयो भने पनि एसिडिटी बढ्न गई बान्ता हुने सम्भावना हुन्छ । त्यसैले, भोलि यात्रा गर्नु छ भने अघिल्लो दिन ६ बजेभित्र हल्का खाना खाई सक्नुपर्छ ।

 

पानीको कमी भएर शरीर हाइड्रेट नहुँदा पनि यात्राको क्रममा बान्ता हुने सम्भावना बढ्न सक्छ । यात्रा गर्ने बेलामा ट्वाइलेट जान समस्या हुने डरले कम पानी पिउने बानीले गर्दा पनि बान्ता हुने भएकोले यात्रा गर्दा वा यात्रा गर्नुभन्दा अघि प्रशस्त मात्रामा पानी पिउनुपर्छ । यात्रा गर्दा बान्ता हुन्छ भन्ने थाहा भएका व्यक्तिहरूले बान्ता हुन रोक्नको लागि औषधिको सेवन गर्ने गर्छन् । तर, गाडीमा चढिसकेपछि औषधिको सेवन गर्दा औषधि नै बान्ता भएर जाने सम्भावना हुन्छ त्यसैले, गाडीमा चढ्नुभन्दा आधा घण्टा अघि औषधिको सेवन गर्नुपर्छ ।

 

गाडीमा बस्दा सीधा भएर नबस्दा पनि बान्ता हुने सम्भावना हुन्छ । त्यसैले, गाडीमा बस्दा आँखा बन्द गरेर सीधा टाउको राखेर बस्दा बान्ता हुने सम्भावना कम हुन्छ ।ल्वाङ, सुकुमेल, अदुवालगायत अन्य खानेकुरा मुखमा लिई राख्दा पनि बान्ता हुने सम्भावना कम हुन्छ । यात्रा गर्ने बेला वा यात्रा गर्नुभन्दा अघि धेरै गुलियो तथा अमिलो खानेकुरा खाँदा ग्यास्ट्रिक हुने र बान्ता हुने सम्भावना हुन्छ । त्यसैले, यात्रा गर्ने बेला बिहानको समयमा हल्का नुनिलो खानेकुरा खानुपर्छ ।