२०८१ मंसिर ६ , बिहिवार

सेनाले ‘लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ गर्दै

सुनाखरी न्युज/ काठमाडौं – नेपाली सेनाले यही फागुन २१ गते‘दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 

नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवसका उपलक्ष्यमा उक्त दौड प्रतियोगिता गर्न लागिएको हो । दुगुनागढीको ऐतिहासिक र लिस्तीकोटको धार्मिक महत्वलाई उजागर गर्दै त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न तथा सैनिक–नागरिक सम्बन्ध विस्तारको उद्देश्यले प्रतियोगिता गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भोटेकोसी किनारस्थित सुक्खा बन्दरगाहबाट सुरु हुने सो प्रतियोगिता नयाँ पुल हुँदै दुगुनागढीसम्म २४।५ किमी दूरीको हुनेछ ।

 

सेनाको पहलमा जिल्ला प्रशासन कार्यालयसहितका सरकारी निकाय, बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, व्यापार–व्यवसायी तथा सङ्घसंस्थासँगको समन्वयमा प्रतियोगिता सञ्चालन हुनेछ ।खुला, महिला र जिल्लावासी गरी तीन विधामा सञ्चालन हुने उक्त प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीले भाग लिन पाउनेछन् । प्रतियोगितामा खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु एक लाख १० हजार, रु ७५ हजार र रु ५५ हजार, महिलातर्फ पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः रु ६०, रु ३५ र रु २० हजार तथा जिल्लावासीतर्फको विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ३०, रु २० र रु १५ हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने निर्देशनालयले जनाएको छ । रासस