२०८१ मंसिर १० , सोमवार

नेपालमा बन्यो पहिलो पटक क्यान्सर विरुद्धको औषधि

सुनाखरी न्युज/ काठमाडौं ।

 

नेपालमा पहिलो पटक उत्पादन भएको क्यान्सर रोग विरुद्धको औषधि (एन्टीक्यान्सर ड्रग) बजारमा आएको छ।टिजिग फार्मा प्रालिले उत्पादन गरेको एन्टी क्यान्सरको औषधि बजारमा आएको हो।

 

यो सँगै टिजिग फार्मा क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ। औषधि सार्वजनिक गर्दै टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल भित्रै बिक्री वितरण गर्न औषधि व्यवस्था विभागबाट तीन वटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको बताए। विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको उनले जानकारी दिए।

 

टिजिगले अहिले विभागबाट २७ वटा मोलिक्युलका लागि उत्पादन स्वीकृति पाइसकेको छ। जसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन्। यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी वैद्यले जानकारी दिए। उनले अहिले बजारमा जाने उत्पादनहरु ट्याब्लेट र क्याप्सुलको बनोटमा रहेको बताए।