२०८१ आश्विन १२ , शनिवार

बिभिन्न सवारी दुर्घटनामा ७ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।

रुकुम पूर्व – सिस्ने गाउँपालिका-६ स्थित सडकमा रा.१ त १५६३ नम्बरको ट्याक्टर गिट्टी उठाएर ब्याक गर्ने क्रममा पल्टिएर बुधबार दिउँसो दुर्घटना हुँदा गिट्टी उठाउने काम गर्ने सोही ठाउँ बस्ने ४५ वर्षीय प्रेम परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अछाम – रामारोशन गाउँपालिका-५ स्थित सडकमा सुदूर पश्चिम प्रदेश ०१-००२ त ५१७० नम्बरको ट्याक्टरले किच्दा सोही ठाउँ बस्ने अम्मर बहादुर साउदको छोरा ९ महिनाको खेमराज साउदको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हुम्ला – ताजाकोट गाउँपालिका-२ कवाडी बजारस्थित सडकमा कर्णाली प्र-०२००१ ज ००४५ नम्बरको बलेरो जिपको ठक्करबाट सोही गाउँपालिका-२ मैला बस्ने सुर्जबिर लुहारको छोरा अन्दाजी ६ वर्षीय मनिष लुहारको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली – धनगढी उपमहानगरपालिका-१३ स्थित सडकमा से.५ प ३९४२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका-५ बस्ने ३१ वर्षीय दल बहादुर भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुली – सुनकोशी गाउँपालिका-१ देबी स्थानस्थित सडकमा प्र.३-०१-००३ क ५२५८ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीय टिकाराम शिबभक्तीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पा – रामपुर नगरपालिका-४ स्लामपुरस्थित सडकमा प्रदेश ३-०२-००८ प २९८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-४ भिमसेन टोल बस्ने ४२ वर्षीय प्रेम बहादुर सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामपुर नगरपालिका-५ बेझाड बस्ने ३५ वर्षीय जिबन श्रेष्ठलाई सोही अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि लुम्बिनी मेडीकल कलेज प्रभास पठाइएको छ ।

महोत्तरी – गौशाला नगरपालिका-१ रामनगरस्थित सडकमा स.१ च १३९३ नम्बरको एम्बुलेन्सको ठक्करबाट साईकलयात्री गौशाला नगरपालिका-११ बस्ने ३५ वर्षीय तेजनारायण महतोको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।