२०८१ पुष ७ , आइतवार

सकियो उद्यमीहरूसँगको कुराकानी

सुनाखरी ज्युज/ काठमाडौं । हल्ट प्राइज एट नेकले जुम एपमार्फत उद्यमीहरूसँग कुराकानीको अन्तिम सत्र पूरा गरेको छ । कार्यक्रममा सिमरन बोहराले कार्यक्रमको उद्घाटन गरिन् । उप क्याम्पस निर्देशिका समी सुवेदीले सत्रको उद्देश्यबारे टिप्पणी दिइन् ।

 

सत्रमा प्रमुख वक्ताका रूपमा शौरब लोहनी उपस्थित थिए । उनी कर्पोरेट प्रशिक्षक र कुशल वक्ता हुन् । साथै धेरै सामाजिक उद्यमहरूमा उनी संस्थापक र निर्देशक रहेका छन् । लोहनीले नेपाल र विश्वभरमा उद्यमी बन्नका लागि अवसर र चुनौतिहरू रहेको बताए । उद्यमी बन्न चाहने युवा विद्यार्थीहरूलाई धेरै रणनीतिक सुझावहरू पनि उनले दिए । उनले व्यवसाय सुरु गर्ने, सञ्चालन गर्ने र बढाउने उपायका साथै बजारमा कसरी प्रभाव पार्ने भन्ने विषयमा पनि विद्यार्थी वर्गसँग छलफल गरे । लोहनीले साधारण जस्तो देखिने स्टार्ट–अपहरूको पनि जटिलता र चुनौतीहरू स्पष्ट रूपमा बुझाए । र हार नमानी अगाडि बढ्नुपर्ने आवश्यकतालाई उनले दर्शाए ।

 

उनले अहिलेको जस्तो बदलिदो र प्रतिस्पर्धात्मक समयमा व्यवसायलाई कसरी दिगो बनाउने भन्ने विषयमा कुराकानी गर े। लोहनीले सहभागीहरूको सबै प्रश्नहरूको जवाफ पनि दिएका थिए । कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी तथा अन्य इच्छुक व्यक्तिहरुको ठूलो संख्यामा सहभागिता रहेको थियो । श्रोता र पाहुनाबीचको उत्साहजनक अन्तरक्रिया कार्यक्रमको मुख्य विशेषता थियो । अतिथि वक्ता शौरब लोहनीलाई आफ्नो बहुमूल्य समय र उपस्थितिको लागि सम्मान गर्दै अन्त्यमा हल्ट प्राइजकी क्याम्पस निर्देशिका टानिया लामिछानेले भर्चुअल प्रेमको चिनो प्रदान गर्दै सत्रको समापन गरिन् ।