२०८१ आश्विन ५ , शनिवार

महाशिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइने

सुनाखरी न्युज/ काठमाडौं। पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिका अवसरमा बिजुली बत्ती र फूलले विशेषरूपमा सजाइने भएको छ । पशुपति क्षेत्रका मुख्य चार प्रवेशद्वारमा बिजुलीका ढोका बनाई त्यसभित्र बत्तीको सजावट गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो ।

 

उमाकुण्ड, भुवनेश्वरी, गौशाला र तिलगङ्गामा बिजुली बत्तीको ढोकासहित त्यसभित्र झिलीमिली बनाइने उहाँले सुनाउनुभयो । पशुपतिनाथको मुख्य क्षेत्रमा भने बिजुली बत्तीसँगै फूलको समेत सजावट गरिने भएको छ । महाशिवरात्रि पशुपति क्षेत्रमा मनाइने जात्रा पर्वमध्ये मुख्य मानिन्छ । परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचनअनुसार महाशिवरात्रिका दिन पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने गरेको छ ।

 

पशुपति क्षेत्रमा आउने भक्तजनलाई विशेष सुविधा दिने गरी कोषले तयारी अघि बढाएको छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्वले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने मान्यता रहिआएको छ ।

 

महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देशविदेशबाट लाखौँ भक्तजन आउने गर्छन् । हजारौँको सङ्ख्यामा साधुसन्तको आगमन पनि यस अवसरमा हुने गर्छ । पशुपति क्षेत्रमा फागुन लागेदेखि नै साधुसन्तको चहलपहल बढ्न थालेको छ । राजधानीका अन्य स्थानमा अहिले साधुसन्त बढी देखिन थालेका छन् ।