२०८१ आश्विन १२ , शनिवार

दुर्घटनामा चार जनाको मृत्युको शोकमा बिदा

सुनाखरी न्युज/बैतडी ।

बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार अपराह्न भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो ।

 

दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । नगरपालिकाले एक सूचना जारी गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । सोमबार अपराह्न भएको टिपर दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

 

मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन् । राजेन्द्रको उपचारका क्रममा डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो भने अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परेर अन्य पाँच घाइते भएका छन् । गुजरबाट पाटनतर्फ आइरहेको बा३ख ४८७९ नंको टिपर सोमबार अपराह्न भित्री सडकमै पर्ने झाडीमालीमा दुर्घटनामा परेको हो । विद्यालय छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिपरमा चढेर आउन लागेका बेला दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त टिपर सडकबाट ३०० मिटर तल खसेको थियो । रासस