सुनाखरी न्युज/ काठमाडौं ।
खाना बाँकी हुन्छ भने त्यसलाई फ्रिजमा राखिन्छ र आफ्नो आवश्यकता अनुसार यो प्रयोग गरिन्छ । थुप्रै विशेषज्ञले खानालाई धेरै बेरसम्म फ्रिजमा राख्नु नहुने बताउँछन् तर खाना बचेको खण्डमा त्यसलाई खराब हुनबाट जोगाउन र स्टोर गरेर राख्नका लागि फ्रिजको साहारा लिइन्छ ।
केही समयअघि एउटा घटना सार्वजनिक भएको छ जसमा एक विद्यार्थीले एक रात अघि फ्रिजमा राखेको खाना खाएका थिए र त्यसपछि उनी यति बिरामी भए कि उनको दुबै खुट्टा काट्नु परेको थियो । खाना खाएपछि उनको मृगौलाले काम गर्न बन्द गरेको थियो र उनलाई एउटा गम्भीर रोग लागेको थियो । स्थितिमा सुधार नभएका कारण डाक्टरले यस्तो कदम उठाउनु परेको थियो ।
के हो घटना ?
न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनको रिपोर्ट अनुसार जेसी नाम भएका एक विद्यार्थीसँगै कोठामा बस्ने साथीले अघिल्लो रात रेष्टुरेन्टमा चिकन र नुडल्स लिएर आएका थिए । उनले आफूले केही खाएपछि बाँकी फ्रिजमा राखेका थिए । भोलिपल्ट बिहान जब जेसीले त्यो खानेकुरा खाए, त्यसको २४ घण्टा नबित्दै उनी बिरामी भए । सुरुमा उनलाई पेट दुख्यो, उनलाई रिँगटा लाग्यो त्यसपछि उनको छाला बैजनी रङको हुन थालेपछि उनका साथीले उनलाई अस्पताल लगे । उनलाई उच्च ज्वरो आइरहेको थियो, मुटुको धड्कन प्रति मिनेट १६६ धड्किरहेको थियो, तसर्थ उनलाई बेहोस पानु परेको थियो ।
जानकारीका अनुसार जेसीलाई कुनै प्रकारको एलर्जी थिएन न नै उनले कहिल्यै मद्यपान गरेका थिए । तर उनी हरेक हप्ता २ प्याकेट चुरोट र दैनिक गाँजा भने सेवन गर्दथे । उनको स्थिति थप नाजुक बन्दै गएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत् उनलाई अस्पताल पठाइयो ।रिपोर्टमा बताइए अनुसार अस्पताल भर्ना गर्नु २० घण्टा अघिसम्म बिरामी पूर्ण रुपमा ठिक थिए । तर जब उनले रेष्टुरेन्टबाट ल्याएको चिकेन र नुडल्स खाए तब उनको स्वास्थ्य नाजुक हुनथाल्यो । अस्पतालमा उपचारको क्रममा थाहा भयो कि जेसी एक ब्याक्टेरियल इन्फेक्सनद्वारा ग्रसित भएका थिए जसका कारण उनको मृगौलाले काम गर्न बन्द गरेको थियो र उनको रगत जम्न थालेको थियो ।
उनको रगतमा यस्ता ब्याक्टेरिया भेटिएका थिए जुन घातक सेप्सिसका निशानी थिए । जेसीको शरीरमा सेप्सिस फैलिन थालेपछि उनको हातका सबै औंला काटिए र घुँडा मुनिका खुट्टा पनि काटिएका थिए । जेसीलाई २६ दिनपछि होस आएको छ तर उनको जीवन अब पूर्ण रुपमा फेरिएको छ ।
के हो सेप्सिस ?
सेप्सिस एक प्रकारको रोग हो जुन शरीरमा कुनै प्रकारको संक्रमणका कारण हुने गर्छ । सेप्सिस त्यतिबेला विकसित हुन्छ जब कुनै संक्रमणले तपाईंमा शरीरमा प्रतिरोधीलाई असाध्यै धेरै बढाउँछ । अर्को शब्दमा भन्ने हो भने जब तपाईं कुनै संक्रमणद्वारा संक्रमित हुनुहुन्छ तब तपाईंको प्रतिरक्षा प्रणाली योसँग लड्नका लागि प्रोटिन र अन्य रसायन छोडर त्योसँग लड्छ, तर जब यो प्रतिक्रिया नियन्त्रण बाहिर हुन्छ तब त्यसलाई सेप्सिस भनिन्छ ।
धेरैजसो ब्याक्टेरियाको संक्रमणका कारण सेप्सिस हुनेगर्छ । कोभिड–१९, इन्फ्लूएन्जा र फंगल संक्रमण पनि सेप्सिसको कारण बन्ने गर्छ । सेप्सिसका कारण अत्यधिक ज्वरो, तेज हृदय गति र सास फेर्न कठिनाइजस्ता लक्षण देखिन्छ । यो एक गम्भीर स्थिति हो जसमा तुरुन्त उपचारको आवश्यकता पर्छ । यसको उपचार समयमा नै नहुँदा यो घातक हुनसक्छ । यसको अन्तिम स्टेजमा सेप्सिस शक हुन्छ जसमा अर्गन फेल, हार्ट फेल, स्ट्रोक र मृत्यु पनि हुनसक्छ ।एजेन्सी