२०८१ आश्विन १२ , शनिवार

वन अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुनाखरी न्युज/ काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन वन अधिकृत, सहायक वन अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे, सहायक जिल्ला वन अधिकृत विन्देश्वर पटेल, कार्यालयका सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल सिम्रौनगढ-११ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध मुद्दा दायर भएको हो । उनीहरुविरुद्ध सोमबार जनही तीन लाख ६० हजार बिगो माग दाबी गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता वेदप्रसाद भण्डारीले बताएका छन् ।

 

उनीहरुमाथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिम्रौनगढ नगरपालिकास्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम ३ लाख ६० हजार हिनामिना गरेको आरोप छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम सजाय गरी उल्लेखित बिगो जफतसमेत हुन माग दावी गरिएको छ ।