सुनाखरी न्युज/ काठमाडौं ।
ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित काठमाडौँको सामाखुसीबाट दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले चोरीको मोटरसाइकलसहित महोत्तरी बर्दिबासका २० वर्षीय सञ्जय विश्वकर्मा र सङ्खुवासभा खाँदबारीका रमेश राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले वास्तविक नम्बर प्लेट बा ८५ प ९०३४ लाई परिवर्तन गरेर प्रदेश ३–०२–१२ प ५५८२ नम्बरको प्लेट हालेर चलाएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
सन्तोष श्रेष्ठको नाममा रहेको उक्त पल्सर मोटरसाइकल यही पुसमा धुम्बाराहीबाट हराएको थियो । मोटरसाइकलसहित पक्राउ परेका उनीहरुलाई चोरी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको महाशाखा प्रमुख जोशीले बताए । रासस