२०८१ मंसिर ८ , शनिवार

आज प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधिसभा बैठक आज (शुक्रबार)को बैठक बस्दैछ । बिहीबारका लागि तोकिएको बैठक आजका लागि सरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक विशेष कारण देखाउँदै आजका लागि सरेको संघीय संसद सचिवालयले जनाएको छ ।

 

आजको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौता माथि सामान्य छलफल हुने उल्लेख छ । उक्त प्रस्ताव संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।संघीय संसद्का महासचिव डा. भरतराज गौतमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची बिहीबारै सार्वजनिक गरेका हुन् ।

 

कार्यसूचीको पहिलो नम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ भने दोस्रो नम्बरमा एमसीसी प्रस्ताव छलफलका लागि पेश हुने उल्लेख छ । बिहीबारकै बैठक सारेर प्रधानमन्त्री देउवाले नयाँ बानेश्वरस्थित संसद्‍ भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग छलफल गरेका थिए । सरकारले एमसीसीको पक्षमा एमालेलाई मनाउन बैठक सारेको बालुवाटार स्रोतले बताएको थियो ।

 

बैठक स्थगित गरेर दिनभर छलफलमा जुटेका प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्य गर्ने तयारी गरेका छन् ।एमालेले केही सर्त अगाडि सारेपछि ठोस् निर्णय भने भइसकेको छैन । बिहीबार रातिसम्म एमाले नेतृत्वसँग प्रधानमन्त्री देउवासहित काँग्रेस नेतृत्वले बालुवाटारमा छलफल गरेको छ ।