२०८१ पुष ८ , सोमवार

रुसी सेनासँग लड्न युक्रेनका १ लाख सेना परिचालित

सुनाखरी न्युज/ काठमाडौँ । रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तीमा पनि १ लाख सेना परिचालन गरेको जनाएको छ । रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको छ । त्यस्तै आइतबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए ।

 

यहाँका सेना प्रमुख भेलरी जालुज्नीले सो कुराको जानकारी दिनुभएको छ । उहाँले फेसबुकमार्फत् भन्नुभएको छ– युक्रेनले १ लाख भन्दा बढी सैनिक परिचालन गरेको छ र तीमध्ये अधिकांश सीमा सुरक्षा क्षेत्रमा कार्यरत सेना रहेका छन् ।अहिले पनि रुसको सेनाले युक्रेनको राजधानी किभ सहर घेरा हालेका बताइएको छ । रुसले आफूलाई पक्राउ गर्न खोजेको तर सफल नभएको युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्की बताउनुभएको छ ।

 

रुसले आक्रमण गरेको आज चौथो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ ।यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरुमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ । यसअघि युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यहाँ आम रूपमा सेना परिचालनको आदेश दिनुभएको छ । यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ । उता रुसले आत्मसमर्पण गर्न युक्रेनी राष्ट्रपतिलाई भनेको छ ।