२०८१ आश्विन ६ , आइतवार

भ्रम चिरेर एमसीसी पारित गरेका हौं : अध्यक्ष नेपाल

सुनाखरी न्युज/ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीमा भएको भ्रम चिरेर संसदबाट पारित गरेको बताउनुभएको छ ।

 

काठमाडौंमा शुक्रबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले राष्ट्रहितलाई तलमाथि हुन नदिइकन एमसीसी पारित गरेको बताउनुभयो । उहाँले अमेरिकी सेना नेपाल आउने, आईपीएसको अंग हुने कि नहुने, कुनै गठबन्धन, सुरक्षा रणनीतिमा सामेल हुने कुरामा स्वीकार गर्न नसकिने उल्लेख गर्नुभयो । ‘त्यही भ्रम व्याख्यात्मक टिप्पणीमा उल्लेख गरिएको छ,’ उहाँको भनाइ छ ।

 

अध्यक्ष नेपालले प्रमुख विपक्षी एमालेले एमसीसीमाथि भ्रम चिर्ने कुनै काम नगरेको आरोपसमेत लगाउनुभयो । प्रतिनिधि सभाबाट दुई दिनअघि एमसीसी सम्झौता पारित भएको थियो । एमसीसी पारित भएपछि सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख विपक्षी एमालेले आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । अध्यक्ष नेपालले आफूहरुलाई निमिट्यान्न पार्ने षड्यन्त्र असफल बनाइसकेको पनि बताउनुभयो । फागुन १ गते आफ्नो पार्टी समाप्त पार्ने तयारी भएको जानकारी आफूहरुसँग रहेको बताउनुभयो ।