२०८१ आश्विन ६ , आइतवार

सातै तहका कार्यसमितिको सल्लाहअनुसार चुनावी तालमेलबारे पार्टीले निर्णय गर्छ : नेता प्रकाशमान सिंह

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आशन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलका लागि पार्टीले सातवटै तहका कार्यसमितिको सल्लाहअनुसार निर्णय लिने बताएका छन्।

 

काभ्रेको धुलिखेलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी तालमेलका बारेमा निर्णय गर्नका लागि सवै तहका कार्यसमितिहरुसँग राय लिइने बताएका हुन्। ‘नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी भएकोले केन्द्रीय कार्यसमिति, सातै वटा प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति, १६५ संघीय निर्वाचन क्षेत्र कार्यसमिति, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र कार्यसमिति, ७ सय ५३ पालिका कार्यसमिति, ६ हजार ७ सय ४३ वडा कार्यसमितिको भ्यु प्वाइन्ट लिएर पार्टी एउटा डेमोक्रेटिक तवरले एक्सरसाइज गरेर के गर्दा राम्रो हुन्छ,’ नेता सिंहले भने, ‘पार्टीको हित हुने, संविधान जोगाउनको लागि, संघीयतालाई संस्थागत गर्नका लागि, विकास निर्माणका कार्य अगाडि बढाउनका लागि र सुशासनलाई सर्वोपरी हितमा राखेर कदम अगाडि बढाउँछ।’

 

उनले १४ औँ महाधिवेशनबाट पार्टी नयाँ ऊर्जा उत्पन्न भएको जिकिर गर्दै कांग्रेस एक्लै पनि चुनाव लड्न तयार भएको बताए। ‘कांग्रेस भर्खरै अस्ती महाधिवेशन सम्पन्न भएको छ,’ सिंहले भने, ‘अर्गनाइजेसनमा उर्जा पैदा भएको छ। उर्जाअनुसार कांग्रेस एक्लै लड्नलाई पनि तयार छ।’प्रतिगमन रोक्न पाँच दलीय गठबन्धन बनेको र गठबन्धन सरकारले संविधानको भावना र मर्मअनुरुप सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेको पनि बताए। ‘गठबन्धन सरकार प्रतिगमन रोक्नका लागि बनेको सरकार हो। संविधानलाई ट्रयाकमा राख्ने, संविधानको भावना र मर्मअनुरुप सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेको छ,’ सिंहले भने, ‘त्यही अनुसार निर्वाचन आयोगले आफ्नो काम अगाडि बढाएको छ।’