२०८१ असार २३ , शनिवार

राप्रपा वैकल्पिक शक्तिको रूपमा आओस् भन्ने जनचाहना छ : डा. लोहनी

सुनाखरी न्युज/ काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाबाट विकल्प खोजेको, गुणात्मक परिवर्तन चाहेको बताएका छन् ।

 

बिहीवार बसेकाे राप्रपा केन्द्रीय समितिकाे बैठकलाई सम्बाेधन गर्दै डा. लाेहनीले राप्रपा वैकल्पिक शक्तिकाे रूपमा आओस् भन्ने जनताले चाहेकाे बताए । उनले भने, ‘राप्रपा वैकल्पिक शक्तिको रूपमा आओस् भन्ने जनचाहना छ । यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो । निश्चित पनि यस मानेमा, राप्रपाले महाधिवेशनपछि फड्को मारेको छ,’ डा. लोहनीले राप्रपाको केन्द्रीय कार्य समितिको बैठकलाई बिहीबार सम्बोधन गर्दै भने ।

 

‘कांग्रेस, एमाले र माओवादीको छलछाम र कामबाट वाक्क भएर राप्रपालाई जनताले आशाका साथ हेरीरहेका छन् । राष्ट्रवादी, प्रजातान्त्रिक छवी भएको राप्रपाबाट सुधार प्राप्त होस् भन्ने जनताले अपेक्षा लिएका छन्,’ राप्रपा नेता लोहनीले भने, ‘यो लहर, लहरले दिएको शक्ति सदा उपलब्ध नहुन सक्छ । त्यसकारण समयले दिएको शक्तिलाई साथ लिएर यसभन्दा माथि उठ्ने प्रयास गर्नु पर्दछ । यो अवस्था आन्तरिक सुक्षबुझ, एकता र आन्तरिक व्यवस्थापनबाट प्राप्त हुन्छ ।’

 

यस्तै, लोहनीले कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा पूर्ण तयारीका साथ लाग्न निर्देशन दिए । ‘वातावरण हाम्रो पक्षमा छ,’ उनले भने । राप्रपा केन्द्रीय कार्य समितिको बैठक फागुन १८ र १९ गते काठमाडौँमा सम्पन्न भएको छ ।