चक्रपाणि शर्मा गौतम – धेरै-धेरै बर्ष पहिलेको कुरा हो,भारत-बर्ष अन्तरगतको एक राज्यमा यौटा डांकु रहन्थ्यो जसको नाम औंलामाला-डांकु थियो।शरीरको दार-पात भयङ्कर ठूलो,आखा राता-राता,मानौं देख्दा राक्षस जस्तै डरलाग्दो यस डांकुले आफ्नो सामुन्ने जो ब्यक्ति आऊंछ,उसको यौटा औंला काटेर मालामा उनी आफ्नो गलामा लाउने गर्दथ्यो।
यस डांकुले सामुन्ने आऊने ब्यक्तिहरुले आफ्ना हातको एक औंला कट्न दिएमा त्यो औंला मात्र काटेर लिन्थ्यो,ज्यान मार्दैनथ्यो।तर यदि कुनै ब्यक्तिले यस डांकुले औंला माग्दा दिन नमानेमा टाउको काटेर त्यस ब्यक्तिलाई मारिदिन्थ्यो र अनि एक औंला काटेर माला उनी लाऊंथ्यो।यसको छातिभरी मानिसहरुको रगतका डामैडाम थिए,१०८ भन्दा बढी औंलाको माला बनाएर लाउने यसले अठोट बोकेको थियो।यो डांकु एक डरलाग्दो बनको माझ मूलबाटो बीच रहेर यस्तो धन्दा गरिरहन्थ्यो।यसलाई यस्तो अपराधी कार्य गर्न हुन्न भनेर सम्झाउने-बुझाउने,हप्की-दप्की गरेर डर देखाउने हिम्मत कसैलेपनि गर्न सकेका थिएनन।यसको छातीमा ६० भन्दा बढी मानिसको हातका औंलाको माला भिरेको थियो।यो कुराको पत्तो पाएका ब्यक्तिहरु औंलामाला डांकु रहेको बाटो भएर हिड्ने गर्दैनथे।
एक समयमा एक जना सन्तलाई भिक्ष्युक भएर त्यहि बाटो हुंदै अर्को कुनै गाऊंमा जानपर्ने अवस्था भएछ।भिक्ष्युक त्यतै भएर जानभनी बनको नजिक आयिपुग्दा त्यहां रहेको अर्को एक ब्यक्तिले भन्नलागेछन—हे भिक्ष्युक!तपाईं त्यता नजानुहोस,त्यता अलिक पर एक दुष्ट औंलामाला नाम गरेको डांकु बसेको छ,त्यसले आफ्नो सामुन्ने आऊने मान्छेजति सबैको औंला काटेर तिनै औंलाको माला उनेर गलामा लाउने गर्छ।त्यो बाटो जानी हो भने त्यस अपराधीबाट बंचेर उता जान सकिंदैन।भिक्ष्युकले भने– मलाई त्यस डांकुको डर कत्तिपनि छैन,त्यतै भएर पल्लो गाऊंमा छिर्न परेको छ, जानकारी दिनुभएकोमा तपाईंलाई धेरै-धेरै धन्यवाद छ,म त्यहि बाटो भएरै जान्छु भन्दै ती भिक्ष्युक डांकु रहेको बाटो भएरै गए।डांकु नजिकै पुगेपछि दाहिने हातमा कमण्डलु र देब्रे हातमा दण्ड भएका भिक्ष्युकले अलक शंङ्कर!भिक्ष्याम देही!भिक्ष्याम देही!!भिक्ष्याम देही!!!भन्दै याचना गरेको सुनेर औंलामाला डांकुले भन्यो—हे भिक्ष्युक!तैले भिक्ष्या मागेको हुनाले मर्नबाट बंचिस,अब खुरुक्क यहांबाट कता जानीहोस गैयाल।यस ठाऊंमा यसरी उभिएर धेरैबेर रहन मिल्दैन।डांकु उत्तानो भएर लम्पसारपरी सुतिरहेको थियो, उसको छातीभरी रगतका डामैडाम देखिन्थे,उसको गलादेखि छातीसम्म मानिसको हातका औंलै- औंलाको माला झुण्डियिरहेको थियो।
औंलामाला डांकुको यस्तो बोली सुनेपछि भिक्ष्युकले भने—हे महाराजाका पनि महाराजा!तपाईं जस्ता महान ब्यक्तिको ढोकामा याचक बनेर आयिसकेपछि मैले यहांबाट भिक्षाको रुपमा केही बस्तु नलियी जान मिल्दैन,मलाई छिट्टैगरी भिक्षा दिनुहोस,यसमा बिलम्ब कत्तिपनि नगर्नुहोस।भिक्ष्युकको यस्तो कुरा सुनेर औंलामाला डांकुले भन्नलाग्यो—हे भिक्ष्युक!भिक्ष्याको रुपमा दिने बस्तु मसंग केही छैन,तपाईंलाई के दिएर पठाऊं मैले?यो सुनेर भिक्ष्युकले भने–हे शक्तिप्रवल महाशय!तपाईंको दायां-बायां,अघि-पछि जे छ मलाई त्यहि दिए हुन्छ,बिलम्ब नगरी चांडो दिनुहोस।भिक्ष्युकको यस्तो कुरा सुनेपछि औंलामाला डांकुले एक हातले तरवार उठाएर आफु नजिकैको यौटा बोट छ्याप्प काटेर ल भिक्ष्या यहि भयो ,यो लिएर यहांबाट तुरुन्तै गैयाल भनी भिक्ष्युकलाई भिक्ष्याको रुपमा बिरुवा काटेर दियो।यो देखेर भिक्ष्युकले भने–हे औंलामाला डांकु!मैले त्यसरी काटेर दिएको बोट भिक्ष्याको रुपमा ग्रहण गर्न सक्दिन,त्यस काटेको बोटलाई जोडेर पहिले जस्तो थियो त्यस्तै बनाएर दिन सक्यौ भने मैले स्वीकार गर्नेछु, अन्यथा स्वीकार्न सक्तिन।भिक्ष्युकको यस्तो बोली सुनेर डांकुले भन्दोभयो—हे भिक्ष्युक!एकताली काटेको बोटलाई मैले पहिलेको जस्तै बनाउन त सक्दिन नी।
यो त काटेपछि काटियो-काटियो,पहिलेको जस्तै यसलाई कसले बनाउन सक्छ र?त्यस डांकुको यस्तो कुरा सुनेपछि भिक्ष्युकले भन्नलागे—हे औंलामाला डांकु!एक पटक काटिसकेको बोटलाई फेरि पहिलेको जस्तै बनाउन सकिन्न भने त्यस बोटलाई तिमीले किन काट्यौ?तिमीलाई यसरी मानिसहरुको हातका औंला काटेर माला बनाई गलामा भिर्ने अधिकार कस्ले दियो?तिमीले यस धरतीमा जन्म लिएर गर्नुपर्ने कर्म यहि हो भनेर कसले तोकिदियो?जीवन तिम्रो मात्र हो? यसरी तिमीबाट काटिएर आफ्नो औंला गुमाएका मानिसहरुको जीवन जीवन होईन? अरुको जीवनलाई दु:ख दिएर,मारेर औंलाको माला बनायी गलामा लाउने सोख सिकाउने तिम्रो गुरु को हो? बलपूर्बक मानिसहरुको हत्या गरेर तिनको औंला काटी माला बनाएर लगायी मोजगर्ने अधिकार तिमीलाई कसबाट प्राप्त भएको हो?तिमीबाट हातका औंला काटिएका, मारिएका मानिसहरुलाई यहां बांच्ने अधिकार थिएन? तिमीबाट औंला काटिने मानिसहरुलाई दु:ख,पींडा भएन होला? तिमीले गर्दै आएका यी सबै कर्मको फल क-कसले बेहोर्छ?
ती भिक्ष्युका यस्ता घतलाग्दा वाणीहरु सुनेर त्यो दुष्ट औंलामाला धारी डांकु नतमस्तक भै बडो बिनम्र भावगरी बिन्तिगर्न लाग्यो–हे भिक्ष्युक!मैले आजसम्म घोर अपराध गरेको रहेछु।मेरा ज्ञानका आखा तपाईंले खोलिदिनु भयो।तपाईंका ती सवालहरुको जवाफ दिन मसंग कुनै योग्यता छैन। आज उप्रान्त मैले यो सबै थोक त्यागिदिन्छु,मलाई माफ गर्नुहोस र मैले गरेका यी सबै दुष्कर्महरुबाट उन्मूक्ति मिल्ने कुनै उपायहरु भए क्रिपागरी बतायिदिएर क्रितार्थ बन्ने मौका प्रदान गर्नुहवस।
यो सुनी भिक्ष्युकले भने–हे डांकु!ढीलै भएपनि तिमीले आफ्नो गल्ती महसूशगरी पश्चाताप समेत गरेकोमा तिमीलाई धेरै-धेरै धन्यबाद। आजदेखि यस्ता कर्महरु गर्न तिमीले चटक्कै छाड्यौ र सकेसम्म अरुको हित हुने कर्म गर्दै गयौ,अरुको अहित हुने जस्ता कुनैपनि कर्महरु कहिल्यै गरेनौ भने पक्कैपनि तिम्रो कल्याण हुनेछ।यस्ता उपदेशहरु त्यस डांकुलाई दिएर भिक्ष्युक त्यहांबाट आफ्नो गन्तब्यतिर लागे,औंलामाला डांकु भिक्ष्युकलाई साष्टाङ्ग प्रणाम गरेर नजिकको सरोवरमा गै आफ्ना गलामा धारण गरेको औंलामालालाई सरोवरको जलमा समर्पण गरेर स्नानादि कर्मबाट निब्रित्त भै सद्कर्मको बाटो अंगाल्ने प्रणगर्दै आफ्नो गन्तब्य मार्गतिर लाग्यो।स्मरण रहोस,यहां भिक्ष्युक बनेर भूमिका निर्वाह गर्ने सन्त उनै भगवान बुद्ध थिए। अस्तु!