२०८१ पुष २७ , शनिवार

प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुन्छः अध्यक्ष ओली

सुनाखरी न्युज/ झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश नं १ को विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिनुभएको हो ।

 

अध्यक्ष ओलीले भन्नुभयो, “कोसीले पुरानो सभ्यता र परम्परा बोकेका छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन् । जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ ।” उहाँले अर्को प्रसङ्गमा नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गर्नुभयो । वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेखगर्दै अध्यक्ष ओलीले लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको कांग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् भएको आरोप लगाउनुभयो ।

 

प्रेस चौतारीको अधिवेशनलाई उद्घाटन गर्नुअघि पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले अर्जुनधारा नगरपालिकास्थित सालबाडीमा रहेका पाँच शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईंकेल, नारायण श्रेष्ठको सालिकमा माल्र्यपणसमेत गर्नुभएको थियो ।