२०८१ कार्तिक १७ , शनिवार

बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा प्रहरी प्रधान कार्यालयमा सोमबार बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।

 

नेपाल प्रहरी संगित विद्यालयका म्युजिसियन र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का म्युजिसियनबाट सामूहिक रुपमा उक्त कन्सर्ट सम्पन्न भएको हो । सो अवसरमा नेपाल प्रहरी संगित विद्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक भुला राज खनाल समेतको टोली र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का तर्फबाट Director Of Music, Captain Sean O’Neil एवं Assistant Director Of Music, Designate WO2, सुनिल गुरुङ समेतको टोलीद्वारा विभिन्न सुमुधर धुन प्रस्तुत गरिएको थियो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले Defence Attache, Colonel, Paul Smith र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌को तर्फबाट Director Of Music, Captain Sean O’Neil लाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । सोही अवसरमा Defence Attache, Colonel, Paul Smith ले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई समेत कृतज्ञताको चिनो प्रदान गर्नुभयो । वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगित विद्यालय बैण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरी संगित विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रुपमा यी दुवै बैण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का प्रतिनिधिहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।