२०८१ आश्विन १३ , आइतवार

सङ्खुवासभा दुर्घटना : मृतकको सङ्ख्या १४ पुग्यो, पाँच घाइते

सुनाखरी न्युज/  खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका ६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

 

आज बिहान ७:३० बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । मृतकको पहिचान भइसकेको छैन । बस दुर्घटनामा परेका पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतकबारे विवरण सङ्कलन भइरहेको प्रहरीले बताएको छ ।

 

बस सडकबाट करिब ३०० मिटर तल खसेको छ । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । रासस