२०८१ आश्विन १३ , आइतवार

१३ करोड खर्चिएर नेपालगञ्जमा नगर भवन बन्दै

सुनाखरी न्युज/ नेपालगञ्ज ।

नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधुनिक पहिचानसहितको नगर भवन निर्माण सुरूआत गरेको छ। टाङ्गा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरूपमा निर्माण गर्न लागिएको उपमहानगरपालिका प्रमुख डा धवलशमसेर राणा जानकारी दिए।

 

उपमहानगरपालिकाले १३ करोड रुपैयाँको लागत अनुमान बेसमेन्टसहितको व्यावसायिक कम्पलेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भए पनि पहिलो चरणमा चार करोड रुपैयाँको लागतमा बेसमेन्ट र ग्राउण्ड फ्लोर निर्माण हुने उनले बताए। चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी आत्रय निर्माण सेवाले निर्माणको जिम्मा पाएको उपमहानगरपालिकाका इञ्जिनियर निवेशकुमार शर्माले जानकारी दिए। उनका अनुसार बेसमेन्टबाहेक तीन तले भवन बन्नेछ।

 

तेस्रो तल्लामा ५०० क्षमताको बहुउद्देश्यीय सभाहल दोस्रो चरणमा निर्माण हुने छ। अहिले पहिलो चरणमा बेसमेन्ट पार्किङ र १९ वटा व्यावसायिक सटर निर्माण हुनेछ। पार्किङमा १४ चारपांग्रे सवारी साधन र करिब २५ वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ।  रासस